जापानमा १५ हजार कोरोना संक्रमित घरमै,उपचारको पालो पर्खदै

जापानमा १५ हजार कोरोना संक्रमित घरमै,उपचारको पालो पर्खदै

टोकियो । कोरोना संक्रमित दर बढेसँगै जापानमा समयमै उपचार नपाउने समस्या पनि बढेको छ । अस्पतालमा संक्रमितहरुको चाप बढ्नुका साथै उपचारका लागि आवश्यक शैय्याको अभाव हुँदा घरमै प्रतिक्षारत विरामी संख्या बढेको छ ।
क्योदो न्युज सर्भेका अनुसार १५ हजार ५८ जना कोरोना संक्रमितहरु अस्पताल वा तोकिएको आवासका लागि पर्खाइको सूचीमा छन् । पालो कुरिरहेका संक्रमित संख्या थपिएसँगै समयमै उपचार नपाउँदा घरमै मुत्यु हुनेहरुको संख्या पनि बढिरहेको छ ।

यो महिनाको सुरुवातदेखि गत मंगलबारबाट घरमै पर्खन बाध्य संक्रमितको संख्या तीब्र गतिमा बढेको समाचारमा जनाइएको छ । टोकियोमा मात्रै यो संख्या ५ गुणाले बढेको छ । कोरोना संक्रमितका लागि अस्पताल वा आवासको प्रबन्ध जापानका स्थानीय सार्वजनिक स्वास्थ्य केन्द्रहरुले गर्दै आइरहेका छन् ।

गत नोभेम्बरबाट कोरोना संक्रमित संख्या अत्यधिक बढ्न थालेपछि अस्पताल तथा आवासीय ब्यवस्थाका लागि लामो समय लागिरहेको छ,जसले गर्दा संक्रमितहरु घरमै पालो पर्खन बाध्य भएका हुन् । अति संवेदनशिल अवस्थाका केही संक्रमितहरु समयमै उपचार नपाउँदा घरमै ज्यान गुमाउन बाध्य छन् । आपतकाल घोषणा गरिएका ११ प्रिफेक्चरमध्य टोकियोमा सबैभन्दा धेरै संक्रमितहरु अस्पताल वा अन्य आवासीय सुविधाको पर्खाइमा छन् । यो संख्या गत डिसेम्बरबाट ४.८ अनुपातमा बढेर १,५६३ बाट ७,५३९ मा पुगेको छ । स्थानीय सरकारले भने संक्रमितको अनुपातमा उपचार थलोहरुको सक्दो ब्यवस्थापन गरिरहेको जनाएको छ।

टोकियोले नयाँ कोरोना संक्रमित संख्या दैनिक ५ सय तथा ओसाकाले १६० अनुमान गरेका थिए । तथापी ७ जनवरीमा टोकियोमा हालसम्मकै उच्च २,४४७ र ओसाकामा ६५४ नयाँ संक्रमितको रेकर्ड छ । अहिलेसम्म कोरोना संक्रमितको उपचार सरकारबाट संचालित अस्पतालहरुले गर्दै आए पनि निजी अस्पतालहरुले पनि बिरामी भर्नामा सहयोगको अपेक्षा सरकारले गरेको छ।

विज्ञका अनुसार साना तथा मध्यम स्तरको निजी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार तथा कर्मचारीको अभाव रहेको छ । बढ्दो संक्रमण कम गर्न टोेकियो लगायतका आसपासका ३ वटा प्रिफेक्चरमा ७ जनवरीदेखि नै एक महिने लामो आपतकाल घोषणा गरिएको छ । पछि अन्य ७ प्रिफेक्चरमा पनि आपतकाल विस्तार गरिएको छ । आपतकालिन अवस्था अन्तर्गत मानिसहरुलाई अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । होटल तथा रेष्टुराँलाई पनि कार्य समय घटाउन भनिएको छ।