स्पेनमा रहेका नेपालीलाई अब पुलिस रिपोर्ट बुझाउन सहज

स्पेनमा रहेका नेपालीलाई अब पुलिस रिपोर्ट बुझाउन सहज

स्पेन । स्पेनमा रहेका नेपालीका लागि खुसीको खबर ! प्रहरी रिपोर्ट बुझाउन यहाँको परराष्ट्र मन्त्रालयबाट विगतमा हुदैँ आएको झन्झटिलो कानूनी प्रक्रियामा केही सहजता थपिएको छ ।

यहाँ रहेको नेपाली दूतावासले स्पेनिस सरकारसँग गरेको छलफलपछि यो बोझिलो प्रक्रियालाई सरल बनाइएको हो । नयाँ व्यवस्था अनुसार अब यहाँको आवासीय तथा रोजगार अनुमतिका लागि नेपालबाट चाहिने प्रहरी रिपोर्ट सिधै बुझाउन सकिने भएको छ।

यसअघि नेपालबाट प्रहरी रिपोर्ट ल्याएर अनुवादगरी कानूनी प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्ने ब्यवस्था थियो । तर, अब नेपाल प्रहरीको अनलाइन सेवाबाट प्रहरी रिपोर्ट बनाएर रंगीन प्रिन्ट गरी सिधै बुझाउन सकिने मन्त्रालयले एक सुचना निकालेर जानकारी दिएको छ । यसरी अनलाइन मार्फत बनाएको प्रहरी रिपोर्टमा क्युआर कोडबाट नै प्रमाणिकरण गर्न सकिने नयाँ प्रावधान यहाँको सरकारले गरेको दूतावासको भनाइ छ। तर,यो नियम नेपाल प्रहरीको अनलाइनबाट बनाएको प्रहरी रिपोर्टमा मात्रै लागू हुनेछ । प्रहरी रिपोर्टको स्पेनिस भाषामा अनुवाद भने गर्नुपर्छ।

यस्तो प्रहरी रिपोर्ट यहाँ पहिलो पटक आवासीय तथा रोजगार अनुमति लिन आवश्यक पर्छ । तर, यस बाहेक अन्य कार्यका लागि चाहिने प्रहरी रिपोर्ट लगायतका अन्य कागजात भने पुरानै तरिकाले कानूनी प्रक्रिया अपनाउनुपर्ने दूतावासले जनाएको छ।

कानूनी प्रक्रियाका लागि आवश्यक कागजात संकलन गरी प्रत्येक सोमवार यहाँको परराष्ट्र मन्त्रालयबाट कानूनी रुपमा प्रमाणित गरी नेपालीलाई सहजीकरण गर्ने नेपाली दूतावासले जनाएको छ।