जापानमा कोराेनाको भ्याक्सिन फेब्रुअरीको अन्त्यबाट लगाइने

जापानमा कोराेनाको भ्याक्सिन फेब्रुअरीको अन्त्यबाट लगाइने

टोकियो । जापान सरकारले फाइजर इंकको कोरोना भाइरस बिरोधी खोपलाई फेब्रुअरी मध्यमा स्वीकृति दिने भएको छ ।

प्रधानमन्त्री योशीहिदे सुगाले गत साता आपतकाल घोषणाका क्रममा फेब्रुवरी अन्त्यसम्ममा कोरोना भाइरस विरोधी भ्याक्सिन सुरुवात गर्ने बताएपछि स्वास्थ्य मन्त्री तामुराले त्यसबारे सार्वजनिक जानकारी गराएका हुन् ।

प्रधानमन्त्री सुगाले फेब्रुअरी अन्तमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको कुरा बताएका थिए । मन्त्री तामुराले स्थानीय सरकारले खोप केन्द्रहरू तयारी पार्न थालेको बताएका छन् ।

‘हामीले यसलाई सकेसम्म छिटो गर्नुपर्दछ,’ मन्त्री तामुराले भने, ‘यदि सबै ठीकठाक भयो भने, म फेब्रुवरीको मध्यतिर अनुमोदन भएको हेर्न चाहन्छु ।’

बेलायतसहित कयौं देशमा भ्याक्सिनको जाँच सँगै आम प्रयोग भईरहेको छ । जबकि जापानमा फाइजरको भ्याक्सिन परीक्षण रिपोर्टपछि यस महिनाको अन्त्यसम्ममा अन्तिम स्वीकृति पाउने विश्लेषण गरिएको मन्त्री मन्त्री तामुराले बताएका छन्।

जापानले केही पश्चिमी देशहरू भन्दा दुई महिनापछि खोप प्रक्रिया सुरु गर्न लागेको छ । यस्तो ढिलाई जापानी जनतामा खोपको प्रभाव थाहा पाउन थप परीक्षण भइरहेको कारण बताइएको छ।

जापान सरकारले खोपहरू निःशुल्क उपलब्ध गराइने स्पष्ट पारिसकेको छ । खोपको प्राथमिकतामा चिकित्साकर्मीहरूलाई राखिएको छ । यसबाहेक बृद्ध उमेरका व्यक्तिसहित दिर्घ रोग भएका र अशक्त व्यक्तिहरुलाई प्राथमिकताको चरणमा राखिएको छ।

जापान सरकारले फाइजर बायोटेक भ्याक्सिनको १२ करोड मात्रा खरिदको लागि सम्झौता गरेको छ । बायोटेकले भ्याक्सिन जून महिनाको अन्त्यसम्ममा जापानमा आपूर्ती गर्ने छ । भ्याक्सिन ६ करोड व्यक्तिका लागि पर्याप्त हुनेछ । किनभने एक जनाको लागि दुईपटक भ्याक्सिन लगाउनुपर्ने हुन्छ।

फाइजर अहिलेसम्म एकमात्र कम्पनी हो,जसले जापानमा आफ्नो खोपको आपतकालिन स्वीकृतिको लागि आवेदन दिएको छ, तर जापानले मोडेर्ना इंक, एस्ट्राजेनेका पीएलसी र नोभाभ्याक्स इंकसँग पनि सम्झौता गरेको छ । तर, ती कुनैपनि कम्पनीले जापानमा भ्याक्सिन प्रयोगको लागि आवेदन दिएका छैनन् ।

जापानमा हालसम्म कोरोना भाइरसबाट ४२ सय भन्दा बढीको मृत्यु भएको छ ।संक्रमितको कुल संख्या करिव ३ लाख २५ हजार पुग्दा २ लाख ४० हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।हालका दिनमा जापानमा दैनिक करिव ७ हजारको संख्यामा कोरोना भाइरस संक्रमित थपिंदै गएका छन् ।