केपी ओलीलाई सत्ता र शक्तिको मात चढ्यो: माधव नेपाल
ओलीको सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न प्रवासी नेपालीमाझ नेपालको आग्रह
लिस्बन । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्दै संविधान रक्षाको पक्षमा उभिन प्रवासी नेपाली समक्ष आग्रह गरेका छन् । नेपालले ओलीमाथि ‘सत्ता र शक्ति उन्मादको मात चढेर संविधानमा हुँदै नभएको व्यवस्थाको हवाला दिदैं संसद विघटन गरेको’ आरोप लगाएका छन् ।
पोर्चुगलको राजधानी लिस्बनस्थित नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको नेकपा सम्बद्घ प्रवासी नेपालीको बृहत भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन । भर्चुअल रूपमा जुममा सहभागी भएका नेकपा सम्बद्घ प्रवासमा क्रियाशील करिब पाँचसय अगुवा,समर्थक,शुभचिन्तकहरुको भेलालाई नेपालले सम्बोधन गरेका थिए ।
‘अहिलेको विवाद पदको होइन,पार्टी,लोकतन्त्र र गणतन्त्र विरुद्ध र पक्षधरता बिचको लडाई हो’,सम्बोधनका क्रममा नेपालले भने,‘ओलीजीमा आफूलाई सर्वज्ञानी,सर्वज्ञाता, सुपरम्यान र पार्टीभन्दा माथी ठान्ने व्यक्तिवाद हावी छ ।’
‘सत्ताले मातिएका ओलीका कार्यकर्ताजस्तो सामाजिक सञ्जाल लगायतमा अराजक,असभ्य,गालीगलौज गर्ने शैलीमा प्रस्तुत नहुन’ अध्यक्ष नेपालले समर्थक तथा शुभचिन्तक समक्ष आग्रह पनि गरेका थिए ।
‘ओलीजीले एकैदिन बिहान बामदेवजी,दिउँसो माधव र साँझ प्रचण्डजीलाई प्रधानमन्त्री बनाइदिन्छु भन्ने खालको अति झुट र तुच्छ खेल खेल्नुभयो,’ नेपालको गुनासो थियो ।
उक्त भर्चुअल भेलामा नेपाल ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए, ‘ओलीजीसंग जनताले लडेर ल्याएको यो परिवर्तनप्रति कुनै अपनत्वबोध छैन,’ नेपाल आक्रामक सुनिए,‘समाजवाद,लोकतान्त्रिक गणतन्त्र अनि संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने आजको बेलामा ओलीजीले संघीयता,संविधान,लोकतन्त्र,जनअधिकार र जनचाहनाविरुद्ध एकपछि अर्को प्रतिगामी कदम चाल्नुभएको छ ।’
सोही भेलालाई नेकपा स्थायी समिति सदस्य भीम रावलले पनि सम्बोधन गरेका थिए । ‘जनताको पक्षमा काम गर्न ओली असफल भएको’ नेता रावलको दावी थियो । ‘७० बर्षे कम्युनिस्ट आन्दोलनलाई ओलीले धुजाधुजा बनाउनुभयो,’ रावलको आरोप थियो,‘पार्टीको मार्ग निर्देशन र विधिमा सरकार चलाउन नसकेपछि काम गर्न नदिएको भनेर ओलीले झुट बोल्दै हिड्नुभयो ।’
‘संविधानको धारा ७६ को १ देखि ७ सम्म सरकार निर्माणबारेका व्यवस्था छन्,चार विकल्पमध्ये कुनैपनि विकल्पबाट सरकार बनेन भने ६ महिना भित्र मध्यावधी चुनावमा जाने संवैधानिक व्यवस्था हो,’कार्यक्रममा सहभागी नेकपा,स्थायी कमिटी सदस्य बर्षमान पुनले एक प्रश्नको जवाफमा आफ्नो निष्कर्ष सुनाए,‘यो अर्थमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै आधार छैन । संविधानको लेटर एण्ड स्पिरिट नै यही हो ।’
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको निरन्तरताका लागि आफूले पुनर्नियुक्तिका लागि मन्त्रीपरिषद र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लगे पनि प्रधानमन्त्रीले अस्विकार गरेको पुर्वमन्त्री पुनको दावी थियो ।
पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव श्रीप्रसाद शाहले गरेका थिए । प्रवासी नेपाली एकता मंच बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले सहभागीको स्वागत गरेका थिए । प्रवासमा रहेका लगभग पाँच सय अगुवा कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहेको यो भर्चुअल कार्यक्रमलाई फेसबुक लाइभ मार्फत हजारौंले सुने हेरेका थिए ।