सरकारविरुद्ध शंख फुकेर माइतीघरमा विरोध

सरकारविरुद्ध शंख फुकेर माइतीघरमा विरोध

लेखक, कवि, कलाकारहरुका साथै विभिन्न क्षेत्रमा आवद्ध नागरिक अभियन्ताहरु सहभागी बृहत नागरिक आन्दोलनले संसद  विघटनको विरोधमा प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले शंख फुकेर विरोध गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा भएको संसद विघटन प्रतिगामी र गैरसंवैधानिक कदम भएको उनीहरुको भनाइ छ।

उनीहरुले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद विघटनको विरोध गरेका थिए।

प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए।

नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन्।

बृहत नागरिक आन्दोलनले सबै तह र तप्कामा रहेका सचेत नागरिकहरुलाई असंवैधानिक कदमको प्रतिवादमा उत्रिन आह्वान गरेको छ।