गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् । मन्त्री मण्डलमा कैलालीका गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । उनी पूर्व माओवादी केन्द्रका नेता हुन् ।

संसद् विघटनपछि असहमती जनाउँदै श्रम मन्त्री रामेश्वर राय यादवलगायत सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नयाँ मन्त्रीहरु नियुक्त भएका हुन् ।

चौधरी यसअघि २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा कृषि मन्त्री भएका थिए । उनी सो समयमा प्रचण्डले बनाएको मन्त्रीमण्डलको सुरुवाती चरणमा परेका व्यक्ति हुन् ।

मन्त्रिपरिषद् हेरफेर भएपछि टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभू साह सहकारी विकास मन्त्री बनेका छन् । प्रेम आले वन मन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।

केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठलाई कानुन मन्त्री बनाइएको छ भने शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । पद्मा अर्याल कृषि मन्त्री बनेकी छन् । कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।