‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने त्रिनेत्रका सञ्चालकलाई श्रममन्त्रीको चेतावनी

चेतावनीपछि अलपत्र युवालाई उद्धार गर्ने प्रतिवद्धता

‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने त्रिनेत्रका सञ्चालकलाई श्रममन्त्रीको चेतावनी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ती वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिएका छन्।

यूएईमा दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा ब्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याइने बताएका छन्।

मन्त्री श्रेष्ठको चेतावनीपछी रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई ‘भिजिट भिसा’मा यूएई पुर्‍याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए। यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएका छन्।

उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी आएको छ। आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएकोले उनीहरुलाई कारवाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताए।



No ads found for this position