अदालतको आदेशपछि एनआरएनए र परराष्ट्रको सम्बन्ध सामान्य बन्दै

अदालतको आदेशपछि एनआरएनए र परराष्ट्रको सम्बन्ध सामान्य बन्दै

काठमाडौं । पछिल्लो समयमा गैरआवासीय नेपाली संघ र परराष्ट्र मन्त्रालयबीचको सम्बन्ध सुध्रिदै गएको छ। संघ र परराष्ट्र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरू पहिलो पटक मन्त्रालय पुगेर छलफलमा बस्न थालेका छन्।

परराष्ट्र मन्त्रालयकैविरुद्धमा उच्च अदालत पाटनसम्म पुगेका संघका अध्यक्ष कुमार पन्त गत शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री नाराण खड्कासँग भेटवार्ता गरेका हुन्। पछिल्लो छलफलले निर्वाचनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ।

‘शुक्रबार अध्यक्ष पन्तको नेतृत्वमा हामीले मन्त्री खड्कासँग भेटवार्ता गरेका थियौँ । छलफल सकारात्मक भयो,’ छलफलमा सहभागी एक सदस्य प्रवास खबरसँग भन्छन्, ‘अब निर्वाचन गराउन सरकारले समेत सहयोग गर्ने मन्त्री ज्युले बताउनु भएको छ।’

भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिइएको बताइएको छ।

मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएको ती सदस्यले बताए। भेटमा संघका अध्यक्ष पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए।

पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरेका थिए।

छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम सहभागी थिए।