दुबई बन्यो विश्वमै पहिलो ‘पेपरलेस’ सरकार

दुबई बन्यो विश्वमै पहिलो ‘पेपरलेस’ सरकार

दुबई। दुबई विश्वको पहिलो ‘पेपरलेस’ सरकारको रुपमा स्थापित भएको छ। क्राउन प्रिन्स तथा कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन रसिद अल-मोक्तौमले शनिबार दुबई विश्वमै पहिलो ‘पेपरलेस’ सरकार बनेको घोषणा गरेका हुन्।

यसको घोषणा गर्दै उनले अगाडि भनेका छन्, ‘आज दुबईको जीवनलाई सबै पक्षमा डिजिटलाइज गर्ने सन्दर्भमा नयाँ यात्राको सुरुवात भएको छ। जुन यात्रा आविष्कार, रचनात्मकता र भविष्यप्रति केन्द्रित हुनेछ।’

इमिरेट्सले २०१८ मा दुबईलाई एक अग्रणी डिजिटल राजधानीको रुपमा स्थापित गर्दै विश्वको पहिलो ‘पेपरलेस’ सरकार बनाउने रणनीति तय गरेको थियो। सो रणनीतिअनुसार दुबईको कुनैपनि सरकारी कर्मचारी वा सेवाग्राहीले कागज प्रयोग गर्नुनपर्ने दृष्टिकोण अघि सारिएको थियो।

चार वर्ष पहिले यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक महामहिम शेख मोहम्मद बिन रसिद अल(मोक्तौमले महत्वकाङ्क्षी परिकल्पना अघि सारेका थिए।

चार बर्ष पहिलेको रणनीतिलाई स्मरण गर्दै शेख हमदानले उक्त परिकल्पनालाई देशका जनताले पुरा गरेको भन्दै खुशी व्यक्त गरेका छन्। उनले यूएईका जनताले दुबईको प्रतिस्पर्धात्मकतालाई विश्वको अग्रणी डिजिटल पुँजीको रुपमा अघि बढाउन कडा मिहिनेत गरेको बताए । त्यस्तै, सरकारी कामकार्बाही र सेवालाई ग्राहकको सन्तुष्टि बढाउन रोल मोडेलको रुपमा आफ्नो प्रोफाइल सुदृढ बनाएको समेत बताए।

दुबई ‘पेपरलेस’ भएसँगै ३३ करोड ६० लाखभन्दा बढी कागजको खपत घट्ने भएको छ। त्यस्तै, दुबई सरकारको १।३ अर्ब दिरामभन्दा बढी र एक करोड ४० लाख घन्टा मानिसको समय बचत गर्न मद्दत गरेको बताइएको छ।
दुबई डिजिटलाइज्ड भएसँगै ‘दुबई नाओ’ एप्लिकेसनमार्फत सेवाग्राहीले सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने बताइएको छ।

यस सन्दर्भमा डिजिटल दुबईका महानिर्देशक हमाद अल(मन्सुरीले दुबई सरकारका आन्तरिकसँगै सबै बाह्य कारोबार र प्रक्रियाहरू शतप्रतिशत डिजिटल गरिएको बताए। उनले बृहत् डिजिटल सरकारी सेवाको प्लेटफर्मबाट तिनिहरुलाई व्यवस्थित गरिएको बताए।