दिल्लीमा दीपावलीका अवसरमा पड्काइएका पटाका तथा आतिशवाजीका कारण वायु प्रदूषण अत्यधिक

दिल्लीमा दीपावलीका अवसरमा पड्काइएका पटाका तथा आतिशवाजीका कारण वायु प्रदूषण अत्यधिक

दिल्ली- भारतको राजधानी दिल्लीमा दीपावलीका अवसरमा पड्काइएका पटाका तथा आतिशवाजीका कारण वायु प्रदूषण अत्यधिक बढेको छ।

दिल्लीको वायुको गुणस्तर निकै खतरनाक तहमा पुगेको दिल्ली सरकारले जनाएको छ। सवारी साधान तथा औद्योगिक क्षेत्रबाट हुने उत्सर्जन, धुलोका कण तथा मौसमी प्रणालीका कारण पहिले नै खराब रहेको दिल्लीको वायुको अवस्था बिहीबार राति पड्काइएका पटाकाका धुँवाका कारण झन खराब बनेको छ।

दिल्ली सरकारले यो वर्ष प्रदूषण नियन्त्रणका लागि पटाकाको बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर, त्यसको प्रभाव दिल्लीका बासिन्दामा भने परेको नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको भए पनि स्थानीय बासिन्दाले पटाका पड्काइरहेका छन्। दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीका रुपमा विकसित भएको छ।

दिल्लीमा छिमेकी राज्यका किसानहरुले बालीका नल तथा भुससहितका सामग्री जलाएपछि वायु प्रदूषण थप बढ्ने गर्छ। यस्तै, हिउँद मै पर्ने दीपावालीमा पड्काइने पकाटाले हरेक वर्षजस्तो दिल्लीको वायुलाई हानिकारक बनाउने गरेको मौसम विज्ञहरुको भनाइ छ।

उनीहरुका अनुसार तापक्रम कम भएको समयमा वायुको गति पनि कम हुने हुँदा वायुमण्डलमा रहेको प्रदूषण सफा हुन समय लाग्ने गर्छ। धुलोका मसिना कणहरु, पिएम २.५ को मात्रा दिल्लीको वायुमण्डलमा शुक्रबार अधिकतम ९९९ प्रतिघनमिटरसम्म पुगेको छ।

धेरै स्थानमा सो मात्रामा ५०० प्रतिघनमिटरभन्दा माथि मापन भएको छ। यो तह मानव स्वास्थका लागि गम्भीर हानिकारक मानिने गरिन्छ। विज्ञहरुका अनुसार वायुमण्डलमा पिएम २.५ को मात्रा शून्यदेखि ५० सम्म हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ। ५१ देखि १०० सम्म सन्तोषजनक मानिने गरिन्छ।