नियम विपरित काम गरेको आरोपमा कुवेतमा १८ श्रमिक पक्राउ

नियम विपरित काम गरेको आरोपमा कुवेतमा १८ श्रमिक पक्राउ

कुवेत सिटी। नियम विपरित काम गरेको आरोपमा कुवेतमा एसियालीमुलका १८ श्रमिक पक्राउ परेका छन्।

उनीहरूलाई आवासीय अनुसन्धान विभागका अधिकारीले पक्राउ गरेका हुन्। पक्राउ परेका श्रमिकलाई घरेलु श्रमिक नियुक्त गर्ने एक कार्यालयमा छापा मार्ने क्रममा गिरफ्तार गरिएको हो।

कुवेती संचारमाध्यम अल–जरीदाका अनुसार पक्राउ परेका ती व्यक्तिले घरेलु श्रमिकलाई उनीहरूको प्रायोजकको घर छोड्नको लागि भड्काएको आरोप छ। गिरफ्तार मध्ये अधिकांश आफ्नो प्रायोजकबाट भागेको र पछि उनीहरूविरुद्ध इलाका प्रहरी स्टेशनमा फरार भएको उजुरी दर्ता भएको बताइएको छ।

शोधपुछका क्रममा कार्यालयका प्रबन्धकले कूल एक सय जना घरेलु श्रमिकलाई भड्काई उनीहरूको प्रायोजकबाट भगाई दैनिक वा घन्टाको आधारमा ज्याला पाउनेगरी काममा लगाएको बताएका छन्।

कार्यालयका सञ्चालकसहित पक्राउ गरिएका श्रमिकलाई उनीहरुको देशमै फिर्ता पठाइने बताइएको छ। एक सुरक्षा स्रोतले बताएअनुसार प्रायः एसियाली मूलका ती श्रमिकले मासिक २ सय दिनारसम्म कमाउने गरेका थिए।

छिटो पैसा कमाउने प्रलोभन देखाई त्यसरी श्रमिकलाई आश्वासन दिने अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।



No ads found for this position