यूएई र कतार विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा दोस्रो र तेस्रो स्थानमा

यूएई र कतार विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा दोस्रो र तेस्रो स्थानमा

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) र कतार विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा दोस्रो तथा तेस्रो नम्बरमा पर्न सफल भएका छन्।

हालै सार्वजनिक नयाँ रिपोर्टअनुसार विश्वको १३४ देशमध्ये खाडीका यी दुई मुलुक सुरक्षाको दृष्टीकोणले माथि देखिएका हुन्।

कोरोनाको महामारीले विश्व त्राहिमाम भएको बेला यी दुई देशले आफ्नो जनता तथा विदेशी नागरिकलाई सर्वसुलभ खोप उपलब्ध गराएको थियो।

विश्वको सबैभन्दा सुरक्षित देशको पहिलो नम्बरमा भने आइसल्याण्ड परेको छ। रिपोर्टमा यूएईको खोप अभियान सबैभन्दा प्रभावशाली भएको बताइएको छ। सरकारले ६४ दशमलव ३ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइसकेको छ। यो विश्वमै सबैभन्दा बढी भ्याक्सिन लगाइएको सूची हो।

यस सूचीमा सिङ्गापुर चौथो, फिनल्याण्ड पाँचौ, मङ्गोलिया छैटौं, नर्वे सातौ, डेनमार्क आठौं, क्यानडा नवौं तथा न्युजिल्याण्ड दशौं नम्बरमा छन्।

खाडी मुलुकमा बहराइन १२ औं नम्बरमा छ। कुवेत १८, साउदी अरब १९ तथा ओमन २५ औं नम्बरमा रहेको छ।

ग्लोबल फाइनान्स म्यागजिनले कोरोना तथा अन्य कारणले विश्वको सबैभन्दा सुरक्षित देशको सूची सार्वजनिक गरेको हो।

यो सूचीमा अस्ट्रेलिया ११, स्विट्जरल्याण्ड १४, जापान २२, चीन २६, बेलायत ३८, इजिप्ट ६५, अमेरिका ७१, भारत ९१ र पाकिस्तान ११६ नम्बरमा छ।