आरआरएनको सहजिकरणमा कैलाश गाउँपालिकाका चार टोल पूर्ण सरसफाइ उन्मुख घोषित

नेपाल ग्रामीण पुननिर्माण संस्था (आरआरएन)को सहयोगमा मकवानपुर जिल्ला कैलाश गाउँपालिकाका २ वटा वडाका चार वटा टोल पुर्ण सरसफाइ उन्मुख टोल घोषित भएका छन ।
कैलाश गाउँपालिकाले डब्लुएचएच र आरआरएनको सहजिकरणमा पौष ११ गते मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नंं २ स्थित रानाटोल बुढ्यौलीटोललाई गाउँपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको हो ।
त्यस्तै पौष १२ गते वडा नंंं ९ को विता, अम्बोटे र बरेटार गरी ३ वटा टोलबस्तीहरुलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानी युक्त समुदायहरु घोषणा गरिएको हो ।
दुई वटै घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विषेश आतिथ्यता रहेको थियो ।
त्यस्तै वडा नं २ का वडाअध्यक्ष राजेन्द्र घिसिङ्ग तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमबाट १९ घरधुरी रहेको रानाटोल बुढौलीटोललाई पालिकाको पहिलो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको थियो भने वडा नंं ९ का वडाध्यक्ष भुवनसिंह घलानको अध्यक्षतामा अम्बोटे, बरेटार र विर्ता समुदाय बस्तीहरुलाई सुरक्षित खानेपानी युक्त तथा पूर्ण सरसफाइ उन्मुख टोलहरु घोषणा गरिएको छ ।
३ वटा गाउँका ४८ घरधुरीहरु समेटेर पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।
वडा नं २ को घोषणा सभामा बोल्दै रानाटोल बुढ्यौलीटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रेमन सुमाई मगरले पूर्ण सरसफाइको अवस्थालाई निरन्तरता दिने तथा खानेपानीलाई दीगोरुपमा सञ्चालन व्यवस्थापन गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त समुदायमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले, डब्लुएचएच र गाउँपालिकाको सहयोगमा विगत वर्षदेखि सरसफाइ स्वच्छता अभियान तथा खानेपानी आयोजना निर्माण, संचालन र व्यवस्थापनको लागि सहजीकरण गर्दै आएको छ ।
यस अभियानमुलक कार्यक्रम पूरा गर्नको लागि पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्दिष्ट गरेअनुसारका ७ वटा मुख्य सूचक तथा अन्य उपसूचकहरु पुरा भएपछि यो टोलहरुलाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको वडा नं २ का वडाअध्यक्ष राजेन्द्र घिसिङ्ग तामाङले बताउनु भयो ।
वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले पूर्ण सरसफाइका सूचकहरुको आधारमा अनुगमन तथा प्रमाणीकरण गरी घोषणाको लागि सिफारिस गरेकोे थियोे ।
पूर्ण सरसफाइका मुख्य ७ वटा सूचकहरुमाः
१. चर्पीको समुचित प्रयोग २. व्यक्तिगत सरसफाइ ३. सुरक्षित पानीमा पहुँच तथा प्रयोग ४. सुरक्षित र स्वच्छ खाना ५. घरायसी एवंम संस्थागत सरसफाइ ६. वातावरणीय सरसफाइ र ७. योजना तर्जुमा तथा कार्यान्वयन रहेका छन् ।
ताजा अपडेट
