विदेशमा बस्ने नेपालीका समस्यामा काम गर्ने नयाँ परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवस्यक रहेको बताएकी छिन्।
मन्त्रालयमा पदभार ग्रहण गर्दै राणाले विदेशमा बस्ने नेपालीका मुद्धालाई आफूले प्राथामिकतामा राख्ने बताइन्।
‘हामो नागरिक अरु देशमा बसिरहेका छन्। कतिपयले नागरिकता लिए, कतिले व्यापार गरेर बसेका छन्, कोही पढ्दैछन्। उनीहरूका लागि हामीले के गर्न सक्छौं, हामीले रिभ्यू र रिथिंक गर्नुपर्नेछ। उनीहरूका समस्या समधानमा काम गर्नेछु,’ उनले भनिन्।
अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उनले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको समेत बताइन्।
यस्तै, उनले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन पहल गर्ने प्रतिबद्धता समेत जनाइन्।
नेपालको कूटनीतिक सम्बन्ध सुधार गर्ने पनि उनले बाचा गरेकी गरिन्।
राणाले सीमा विवाद तत्काल समाधान हुन नसक्ने भन्दै यसलाई विस्तारै दुई देशबीच वार्ता गरेर समाधान गर्नुपर्ने पनि बताइन्।