दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा मंगोलियन हार्टको कन्सर्ट

काठमाडौं ।‘मंगोलियन हार्ट’ ब्याण्डले यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ।
बर-दुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो।
ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको हो।
‘संसारभर नेपालीहरूले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवर्द्धन गरिरहेका छन्।
बर-दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो,’ म्यानेजर लामाले भने।
गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्ने तयारी छ।
यूएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो।
लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन्।