विदेशमा भएका नेपालीमा कोरोना संक्रमण सामान्य, मृत्यु हुनेको संख्या शून्य

विदेशमा भएका नेपालीमा कोरोना संक्रमण सामान्य, मृत्यु हुनेको संख्या शून्य

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सार्वजनिक गरेको कोभिड–१९ को तथ्यांक अनुसार कोरोना संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार पछिल्लो डेढ महिना यता पहिलो पटक विदेशमा संक्रमणका कारण मृत्यु हुनेको संख्यमा शून्यता आएको हो ।

एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण २१ देशमा रहेका ३ सय ४१ नेपालीको निधन भएको थियो ।

डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, यूएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा कोरोना संक्रमण देखिएको छ ।

उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् ।

ढुक्क भएर खोप लगाऔँ

संयोजक डा सन्जिव सापकोटाले हाल विश्वभर प्रयोगमा रहेका खोपहरु सुरक्षित भएकोले ढुक्क भएर लगाउन आग्रह गरेका छन् । खोपको विषयमा विभिन्न खाले भ्रम यथावत रहेको बताउँदै उनले अपवाद बाहेक कुनै गम्भीर समस्या नदेखिएकोले उपयुक्त मानिएका खोप लगाउन जोड दिएका छन् ।

उनका अनुसार खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै प्रतिरक्षा प्रणाली कमजोर भएका, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले चिकित्सकसँग सल्लाह गरेर मात्रै खोपको प्रयोग गर्नुपर्ने हुन्छ । खोप लगाएपछि पनि मास्कको प्रयोग एवम स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने उनको भनाई छ ।