विश्वकप क्रिकेट लिग–२ : यूएईको खराब सुरूवात

विश्वकप क्रिकेट लिग–२ : यूएईको खराब सुरूवात

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र घरेलु टिम यूएई भिड्दैछ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनलागेको हो।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन्।

आजको खेलमा स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन्।

अभ्यासका क्रममा घाइते भएका श्याम ढकाललाई प्रतिस्थापन गरेर सन्दीपलाई मौका दिइएको क्यानले जनाएको छ।

यूएईविरूद्धको खेलमा डेब्यु गरेका प्रतिस जिसीको स्थानमा सन्दीपलाई राखिएको छ।

यूएईविरूद्धको खेलमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र गुल्सन झालाई समावेश गरिएको छ।

नेपाली टिमले लिग–२ अन्तर्गत अहिलेसम्म लगातार पाँच खेलमा जित निकालेको छ।

यसअघि यूएईमा खेलिएको खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो।

अंकको हिसाबले नेपाल र युएईबीच थोरैको अन्तर रहेको छ।

पिएनजीसँग भएको खेलमा युएई पराजित भएपछि अंकको अन्तर घटेको हो।

समाचार तयार पार्दासम्म पहिले ब्याटिङ गरिरहेको युएईले पहिलो विकेट गुमाइसकेको छ। ७ ओभरको खेल हुँदा यूएईले १ विकेट गुमाएर २० रन बनाएको छ।