पत्रकारहरूलाई रवि लामिछानेको चुनौती ‘देश चलाउने भए मसँग चुनाव लड्न आउनुस्’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूलाई गाली गर्दै आफूसँग चुनाव लड्न चुनौती दिएका छन्। अदालतलाई प्रभाव पार्नका लागि आफ्नो बारेमा भए नभएको लेखिरहेको भन्दै उनले मिडिया चलाउने र पत्रकारिता गर्नेहरूलाई चुनौती दिएका हुन्।
उनले ‘मिडिया मालिक’हरूका ‘कर्तुत’बारे फेरि मुद्दा ब्यूँझिने डरका कारण आफूलाई गृहमन्त्रालयमा भएको नरुचाएको पनि दाबी गरे।
‘त्यसैले पनि कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भनेर बारम्बार मेरोबारेमा लेखिरहे’ उनले भने ‘१२ भाइ पत्रकारहरू मिलेर कहिले कुन पत्रिका कहिले कुन मिडियाले मलाई लखेटिरहे।’
मिडिया मालिकहरूका बारेमा विभिन्न मितिमा भएका मुद्दाहरूबारे भन्दै उनले चुनौती दिए ‘मिडिया चलाउनेले मिडिया चलाउनुस्। देश चलाउने भए मसँग आउनुस् चितवनमा चुनाव लड्न आउनुस्।’ उनले ठूला मिडियाका सञ्चालक र सम्पादकहरुको नामै तोकेर यस्तो चुनौती दिएका हुन्।
‘म प्राय घेराबन्दीहरूबाट पर्दै र निस्किदैँ आएको मान्छे हुँ। र जहाँ बसेपनि म मेरो आफ्नो समाजलाई योगदान दिने मान्छे हुँ। सधै यही समाजको लागि काम गरेको छु। मन्त्री भएपछिमात्रै गरेको होइन’ उनले भने ‘सबैभन्दा लामो अन्तर्वार्ता लिएर गिनिजबुकमा नाम लेखाएँ। सबै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई राम्रोसँग कभर गरे तर नेपाली मिडियाले मलाई कुनै ठाउँ दिएनन्। नेपाली मिडियाले मलाई कहिल्यै रुचाएनन्।’