धेरै सम्पत्ति गुमाउनेमा मस्कको कीर्तिमान

काठमाडौं। ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन्।
विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ।
गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार मस्कले सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका छन्।
त्यहाँ उल्लेख गरिएका विवरणहरू प्रकाशक फोब्र्सबाट प्राप्त तथ्यांकमा आधारित छन्।
तर, गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ।
गत वर्ष मस्कले ट्विटर खरिद गरेपछि उनको विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्य ह्वात्तै घटेको थियो।
सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि टेस्लाका लगानीकर्ताहरूमाझ अब उनले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक भएको थियो।
मस्कको सम्पत्तिमा आएको गिरावटले सन् २००० मा जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले गुमाएको ५८.६ अर्ब अमेरिकी डलरको कीर्तिमान तोडेको छ।
उनले गुमाएको सम्पत्तिको अनुमानित विवरण मस्कको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटमा आधारित छ।
तर, सेयरको मूल्य पुनः बढ्न पनि सक्छ र मस्कले गुमाएको सम्पत्ति फेरि बढ्न सक्छ।
गत डिसेम्बरमा मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका थिए।
उनलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभिएमएचका मालिक बेअर्नार अर्नोले उछिनेका थिए।
यो कम्पनीले चर्चित फेसन ब्रान्ड लुई भुइटोँका सामग्री उत्पादन गर्छ।
सन् २०२२ मा टेस्लाको सेयरमा ६५ प्रतिशत गिरावट आएको थियो। त्यसको एउटा कारण टेस्लाको काम गर्ने क्षमता पनि थियो।
टेस्लाले गत वर्ष जम्मा १३ लाखवटा गाडीमात्रै बजारमा पु¥याएका कारण पनि यसको सेयर मुल्य घट्न पुगेको हो।
मस्कले ट्विटर खरिद गरेलगत्तै ठूलो संख्यामा कर्मचारीहरूलाई बर्खास्त गर्ने र सामग्री मध्यस्थता नीतिमा ल्याएको परिवर्तका कारण उत्पन्न विवादले पनि सेयरमा गिरावट आएको छ।
टेस्लाका धेरै लगानीकर्ताहरूले उनी विद्युतीय गाडी कम्पनीमै केन्द्रित भएर मन्दीको चिन्ता, बढ्दो प्रतिस्पर्धा र कोभिडका कारण उत्पादनमा देखिएको चुनौतीलाई सम्बोधन गर्नुपर्ने ठानेका थिए।
फोब्र्सका अनुसार मस्कसँग अहिले १७८ अर्ब डलर बराबरको सम्पत्ति छ।
उनीभन्दा धेरै सम्पत्ति कमाएका बेअर्नारको अनुमानित सम्पत्ति १८८ अर्ब डलर छ। (बीबीसी)
ताजा अपडेट
