नेपालका हिमालमा लोभिए बहराइनी राजकुमार, सगरमाथा चढ्ने तयारीमा

नेपालका हिमालमा लोभिए बहराइनी राजकुमार, सगरमाथा चढ्ने तयारीमा

मान्मा । नेपालको हिमश्रृंखलामा बहराइनका राजकुमार शेख नासेर बिन हमद अल खलिफा लोभिएका छन् । गत अक्टोबरमा उनीसहित १८ सदस्यीय बहराइनी टोलीले मनसालु हिमाल र लोबुचे पीक हिमालको सफल आरोण गरेको थियो।

अहिले सोही टोलीले सगरमाथा चढ्ने तयारी थालेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । ‘यसअघि मनास्लु र लोबुचे हिमाल सफलतापूर्वक आरोण गरेको उक्त टोलीले अहिले सगरमाथा चढ्ने तयारी गरेको छ,’राजदूत सुन्दासले प्रवास खबरसँग भने, ‘केही दिनअघि उहाँहरुले दूतावासमा आएर छलफल गर्नुभएको थियो ।’ अहिले उक्त टोलीले बहराइनमा पनि केही तालिम लिइरहेको सुन्दासले बताए।

राजदूत सुन्दासका अनुसार सगरमाथा आरोहणका लागि राजकुमारसहित १६ सदस्यीय टोली १५ मार्चमा विशेष विमानबाट नेपाल जानेछ। टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी र तीन बेलायती रहेका छन् ।
टोली नेपालमा ७९ दिन रहने सुन्दासले बताए । टोलीलाई सगरमाथा आरोहणको व्यवस्थापन नेपालमा सेभेन सुमिट ट्रेक प्रालिले गर्नेछ।