विश्वकपमा इतिहास रच्दै महिला रेफ्री

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।
विश्वकपमा इतिहास रच्ने यो अवसर पाउने रेफ्री स्टेफानी फ्रापार्ट हुन । समूह ‘ई’ अन्तर्गत अल बायट रंगशालामा राति १२ः४५ बजे हुने जर्मनी र कोस्टारिकाको खेलमा मुख्य रेफ्री फ्रापार्टलाइ सहायक रेफ्रीको रुपमा ब्राजीलकी निउजा ब्याक र मेक्सिकोकी करेन डियाजले सघाउँदै छिन । अर्को सहायक रेफ्रीमा भने होण्डुरसका पुरुष रेफ्री सैद मार्टिनेज छन ।
फ्रापार्ट पुरुष विश्वकप फुटबल विश्वकै महत्वपूर्ण खेलकुद प्रतियोगिता भएकोले यसमा पाएको जिम्मेवारीलाई सही हिसावले सदुपयोग गर्ने बताइन । ‘‘पुरुष विश्वकप महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । फ्रान्स र युरोपमा म पहिलो महिला रेफ्री थिएँ । विश्वकपमा यस जिम्मेवारीलाई कसरी निभाउने भन्ने मलाई राम्रोसँग थाहा छ,’’ फ्रापार्टले भन्ीन ।
३८ वर्षीया फ्रापार्ट फिफाको अनुभवी रेफ्री हुन । उनले यसअघि फ्रेन्च लिग वान र यूईएफए च्याम्पियन्स लिग खेलाई सकेकी छिन । उनले यसअघि मेक्सिको र पोल्यान्ड बीचको खेलमा फोर्थ अफिसियलको भूमिका समेत निभाएकी थिइन ।
फ्रापार्ट कतार विश्वकपमा एकमात्र महिला रेफ्री भने होइन । उनीसँगै जापानकी यामासीता योसिमी र रुवान्डाकी सलिमा मुकनसांगाले पनि कतारमा जारी विश्वकप खेलाउँदै छिन । विश्व फुटबल महासंघ (फिफ) ले कतार विश्वकपका लागि यसपटक तीन महिला रेफ्री र चार सहायक महिला रेफ्री छनोट गरेको थियो । बीबीसी