प्रकाशमानको ‘अविराम’ यात्रा, रवीन्द्रकाे दोस्रोपटक पनि हार

प्रकाशमानको ‘अविराम’ यात्रा, रवीन्द्रकाे दोस्रोपटक पनि हार

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

दोस्रोपटक रवीन्द्र मिश्रलाई पराजित गर्दै सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

झिनो मतान्तरले चुनाव जित्दै सिंह चौथौपटक सांसदमा निर्वाचित भएका हुन्।

सिंहले राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रलाई १२५ मतान्तरले पराजित गरे।

सिंहले ७ हजार १४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाएका छन्।

२०७४ सालको निर्वाचनमा सिंहले मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए।

२०७४ को निर्वाचनमा पनि सिंहले मिश्रलाई पराजित गरेका थिए। त्यो बेला विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए।

त्यतिबेला विवेकशील साझा पार्टीबाट चुनाव लड्दा मिश्रले गणतन्त्रलाई एजेन्डा बनाएका थिए। चुनावअघि पार्टी परिवर्तन गरेका उनले चुनावी एजेन्डासमेत परिवर्तन गरेका थिए।

अघिल्लोपटक ‘व्यवस्था होइन अवस्था बदलौं’ नाराका साथ चुनावी मैदानमा उत्रिएका मिश्र यसपालि ‘व्यवस्था बदल्ने एजेन्डा’ लिएर चुनाव लडेका थिए।

तर, गणतन्त्र खारेज गरेर राजसंस्था पुनःस्थापना गर्ने उनको एजेन्डालाई काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले अनुमोदन गरेनन्।

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ २०७३ सालमा राजनीतिको मैदानमा कुदेका मिश्र यतिबेला राजतन्त्रको खुला वकालत गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन्।

प्रकाशमानको राजनीतिक यात्रा

प्रकाशमानसँग २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक मंगलादेवी सिंहको ‘लिगेसी’ छ।

बुबा गणेशमान र आमा मंगलादेवीको प्रभावका कारण उनी नेपाली कांग्रेसको राजनीतिमा होमिएका हुन्।

२०१२ सालमा जन्मेका उनको राजनीतिक यात्रा नेविसंघबाट सुरू भएको थियो। २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा निर्वाचित भएका थिए।

२०४६ सालमा प्रजातन्त्र पुर्नवहालीपछि निरन्तर १० वर्ष कांग्रेसको काठमाडौं जिल्ला सभापति रहेका सिंहले पार्टी विभाजन हुँदा शेरबहादुर देउवाको साथ रहेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति बने।

१४ औं महाधिवेशनमा सभापतिमा लडेका उनी पराजित भए। तर, दोस्रो चरणमा उनले सभापतिका लागि देउवालाई सघाए।

२०४८ सालमा काठमाडौं–४ र २०५१ मा काठमाडौं–३ मा पराजित भएका उनी २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर ६ वर्ष जिम्मेदवारी वहन गरे।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि उनी काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेर निर्वाचित हुँदै आएका छन्। यस क्षेत्रबाट उनको यो लगातार चौथौं जित हो।



No ads found for this position