एनआरएनए सचिवालयमा एमाले कार्यकर्ता भेला पारेर चिया खुवाइँदै

एनआरएनए सचिवालयमा एमाले कार्यकर्ता भेला पारेर चिया खुवाइँदै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेकपा एमाले समर्थित कार्यकर्तालाई चिया खुवाउने कार्यक्रम छ।

संघकी कार्यकारी अध्यक्ष रवीना थापाले सोमबार बिहान ८ बजे वालुवाटरस्थित सचिवालयमा चियापान कार्यक्रमको आयोजना गरेकी छिन्।

थापाले विदेश बस्ने एमाले समर्थित कार्यकर्तालाई चिया खुवाउन लागेकी हुन्।

नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन शनिबार र आइतबार काठमाडौंमा सम्पन्न भएको थियो। अधिवेशनले अमेरिकाका संजय थापाको नेतृत्वमा आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनका लागि विश्वका विभिन्न मुलुकबाट २०८ प्रतिनिधि काठमाडौं आएका छन्। यिनै प्रतिनिधिलाई चिया खुवाउन लागिएको हो।

थापाले चियापानमा सहभागी हुन प्रवासी मञ्चका प्रतिनिधिलाई शनिबार नै निम्तो पठाएकी थिइन्। सचिवालयमै राखिएको चियापान कार्यक्रमकाबारेमा बाहिर कतै सार्वजनिक पनि गरिएको छैन।

‘एमाले भएपनि विदेशमा बस्ने भएपछि उहाँहरु सबै एनआरएन नै हो। त्यसैले रवीना जीले वधाई ज्ञापन गर्न चियापान कार्यक्रम गर्दै हुनुहुन्छ,’ रवीना निकट एक व्यक्तिको भनाइ छ।

एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो। विधानअनुसार राजनीतिक पार्टीको पदमा रहेका व्यक्ति संस्थाको पदाधिकारी हुन पाउँदैनन्। उसको विधानमा राजनीतिसँग सम्बन्धित गतिविधिलाई प्रचार–प्रसार तथा सर–सहयोग गर्न नपाइने उल्लेख छ।

सचिवालयमै पार्टीका कार्यकर्तालाई बोलाएर चिया खुवाउन लागेको कुरा एनआरएनएकै कतिपय प्रतिनिधिलाई भने मन परेको छैन। यो विषय विवादमा पर्ने देखिन्छ।

‘गैर–राजनीतिक संस्था भन्ने, सचिवालयमै बोलाएर चियापान गर्ने ? सबैको प्यारो बन्न यसो गर्न खोजेको त होइन ?,‘एक आइसीसी सदस्य भन्छन्, ‘भेटघाट गर्ने मन नै भए छुट्टै किसिमले गरे हुन्छ नि ! किन सचिवालयमै भेला गर्नु ? सचिवालय राजनीति गर्ने थलो होइन।’