प्रवासी नेपाली मञ्च अधिवेशन : नेतृत्वमा दुई आकांक्षी, साढु भाई पाण्डेको ‘लविङ’मा भट्टराई

प्रवासी नेपाली मञ्च अधिवेशन : नेतृत्वमा दुई आकांक्षी, साढु भाई पाण्डेको ‘लविङ’मा भट्टराई

काठमाडौँ। नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) को प्रथम अन्तर्राष्ट्रिय अधिवेशन शनिवारदेखि काठमाडौंमा सुरु भएको छ।

‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूलनाराका साथ बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा गरे।

अधिवेशनमा मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सयभन्दा बढी प्रतिनिधि सहभागी छन्।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ।

विदेशमा बस्ने एमालेहरु नमूना हुनुपर्छ : अध्यक्ष,ओली

शनिवार अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मञ्चलाई सहमतिमा नयाँ कार्यसमिति चयन गर्न आग्रह गरेका छन्।

उनले एमाले पार्टीले सधैं नमूना व्यवहार देखाउने बताउँदै भने, ‘हाम्रो संगठनका प्रतिनिधिले नेतृत्वका लागि कहिल्यै हानथाप गर्नु हुँदैन। नमूना दृष्टान्तयोग्य व्यवहार देखाउनुपर्छ,’ ओलिले भने, ‘विदेशमा बस्ने एमालेहरु नमूना हुनुपर्छ।’

उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावको विषय कोट्याउँदै नेपाली कांग्रेसका प्रतिनिधिका कारण देशकै बेइज्जत भएको आरोप समेत लगाए।

‘कांग्रेसका साथिहरुलाई डेमोक्रेसी शब्द मन पर्छ। तर, व्यवहार मन पर्दैन। जहाँ पनि कुर्सी हानाहान,’ ओलिले भने, ‘मतभेद छन् भने आपसमा छलफल हुनुपर्छ। एनआरएनएको चुनाव विदेशतिर भएको भए अन्तर्राष्ट्रिय बेइज्जत हुन्थ्यो। झन् नेपालमा भयो।’ कांग्रेसका कारण एनआरएनए भद्रगोल भएको ओलिको आरोप थियो।

एनआरएनए विदेशमा बस्ने नेपालीहरुको एक मात्र साझा संस्था भएको बताउँदै ओलिले भने, ‘यो साझा संस्था हो। यसको उद्धेश्य छुट्टै छ। यसमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन। कांग्रेसले जस्तो एमालेले हस्तक्षेप गर्दैन। राजनीतिमुक्त एनआरएनए बनाउनुपर्छ।’

उनले विदेशमा बस्ने आफ्ना कार्यकर्तालाई एकआपसमा मिलेर बस्न आग्रह गरे।

अध्यक्षमा थापा र पाण्डेको दावेदारी

पार्टी अध्यक्ष ओलिले सहमतिमा कार्यसमिति बनाउन आग्रह गरेपनि नेतृत्व चयनमा भने सकस देखिएको छ।

मञ्चको आगामी नेतृत्वका लागि दुई जनाले आकांक्षा व्यक्त गरेको एक प्रतिनिधिले प्रवास खबरलाई जानकारी दिए। ती प्रतिनिधिका अनुसार अध्यक्षका लागि अमेरिका निवासी सञ्जय थापा र अष्ट्रेलियाबाट रमेश पाण्डेले आकांक्षा देखाएका छन्।

थापा मञ्चको निवर्तमान कार्यसमितिमा सल्लाहकार समितिमा थिए भने पाण्डे सचिवको जिम्मेवारीमा थिए।

अमेरिका निवासी थापाले नेतृत्वका लागि तिव्र इच्छा व्यक्त गरेको बताइन्छ। र, सम्भावना पनि बलियो भएको अमेरिकाबाटै अधिवेशनमा आएका एक प्रतिनिधिले दावी गरे।

‘उहाँको संसारभरका प्रतिनिधिसँग राम्रो सम्बन्ध छ। धेरै देशका प्रतिनिधिले अब तपाईँ आउनुपर्छ भनेपछि उहाँले नेतृत्व हाँक्ने योजना बनाउनु भएको हो,’ ती प्रतिनिधिले प्रवास खबरसँग भने, ‘सकभर निर्विरोध नभए चुनाव गरेर भएपनि अध्यक्ष सञ्जय जी नै हुनुहुन्छ।’

सहमतिमा नेतृत्व नभए चुनावी प्रक्रिया अपनाइने मञ्चको निर्वाचन समितिले जनाएको छ।

चुनाव भएमा थापाको जीत निश्चित रहेको ती प्रतिनिधिको दावी छ। ‘६० जनाभन्दा बढी प्रतिनिधि त अमेरिकाबाटै छन्। अन्य क्षेत्रका प्रतिनिधिको पनि समर्थन उहाँलाई नै छ। चुनावबाट पनि जित्ने त सञ्जय जीले नै हो,’ उनले दावी गरे।

यता पाण्डेले पनि नेतृत्व हाँक्न उत्तिकै इच्छा राखेका छन्। उनी चुनावी मैदानमा उत्रिन तयार छैनन्। सहमतिमै नेतृत्व चयन गर्नुपर्ने जोडमा पाण्डे रहेको पाण्डे निकट एक प्रतिनिधिले प्रवास खबरलाई बताए।

‘उहाँ (पाण्डे) चुनाव होइन सहमतिमै नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,’ उनले भने।

पाण्डे मञ्चको इन्चार्ज तथा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईका सहदोर साढु भाई हुन्।

एमाले विशेष स्रोतका अनुसार भट्टराई आफ्ना भाई पाण्डेलाई निर्विरोध अध्यक्ष बनाउन भित्रभित्रै लागिरहेका छन्।

उनले भाई पाण्डेलाई अध्यक्ष बनाउन ओलिसहित पार्टीका केन्द्रीय नेताहरुसँग ‘लविङ’ गरिरहेको स्रोतको दावी छ।