अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिसक्यो, नेपालमा कहिले?

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिसक्यो, नेपालमा कहिले?

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर युक्रेन युद्ध सुरू भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेको छ।

रूस–युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको कच्चा तेलको मूल्य युद्धअघिको अवस्थामा पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि नेपाली उपभोक्ता गत फेब्रुअरीयता महँगो मूल्यमा इन्धन खरिद गर्न बाध्य छन्।

कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदै युक्रेन युद्ध सुरू भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेपछि नेपालमा समेत नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा ‘आशावादी हुन सकिने धेरै सम्भावना देखिएको’ नेपाल आयल निगमले जनाएको छ।

नियमति प्रक्रियाअन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्यसूची पठाउँछ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्छन्,‘अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ। अबको मूल्यसूची घटेर आउने अवस्था हामीले समेत देखेका छौं।’

यसअघि पनि आइओसीबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको थियो।

तर निगमले भने ‘यसअघिकै उच्च घाटा कायम रहेको’ भन्दै मूल्य घटाएको थिएन।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८६ डलर प्रतिब्यारल रहेको छ।

निगमले आफूले कति मूल्य घटाउनसक्ने भन्ने कुरा आइओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गरिने जनाएको छ।

निगमका अधिकारीहरूले यसअघि नै कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदा पनि ‘प्रशोधन खर्च पाँच गुणाभन्दा धेरै बढाइएकाले’ मूल्यलाई कच्चा तेलको दरले मात्र निर्धारण गर्न नसकिएको बताउँदै आएका थिए।

‘खासगरी माग र आपूर्ति चक्र बिथोलिँदा प्रशोधनकर्ताहरूको त्यस्तो कदमले संसारभर डिजेल र पेट्रोलको मूल्य बढेको थियो। अब त्यसमा सुधार हुने अवस्था देखा पर्न थालेको छ,’ प्रवक्ता उपाध्याय भन्छन्।

आइओसीले लगातार घटिरहेको अन्तर्राष्ट्रिय बजारको दरलाई हेरेर प्रशोधित पदार्थको दरमा पुनः विचार गर्नेमा उनी आशावादी देखिएका छन्।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रूपैयाँ रहेको छ।

यसअघि सेप्टेम्बर १६ मा आइओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६.५५ रूपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आएको थियो। तर, निगमले मूल्य समायोजन गरेन।

उपाध्याय भन्छन्,‘अहिले पनि हामीसँग १८ करोड रूपैयाँजति मासिक घाटा रहेकोले त्यसबेला समायोजन नगरेका हौं।’

यसअघि आइओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकसँग ३ अर्ब रूपैयाँ ऋण लिएको थियो।

युद्ध सुरू भएपछिको १० दिनमा नेपालमा पेट्रोलको मूल्य १५० रूपैयाँ पुर्‍याइएको थियो भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १३३ तोकिएको थियो।

प्रवक्ता उपाध्याय रूस–युक्रेन युद्ध सुरू भएपछि यसबीचमा कैयौंपटक ‘अकल्पनीय दरमा’ मूल्य बढाउनुपरेको बताउँछन्।

उनी भन्छन्,‘उच्च मूल्य बढेको यसबीचको अवस्थामा निगम मासिक १० अर्ब रूपैयाँसम्म घाटामा गएको थियो। अहिले पनि हामी वार्षिक १ अर्ब ६५ करोड तिनुपर्ने दायित्वको ब्याजमात्र तिर्नुपर्ने अवस्थामा छौं।’

एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘बेन्ट क्रुड’ को मूल्य २४ फेब्रुअरीमा युक्रेन युद्ध सुरू हुनुअघि प्रतिब्यारल झन्डै ९० अमेरिकी डलर थियो।

मार्च महिनाको पहिलो साता १४ वर्षयताकै उच्च विन्दुमा अर्थात कच्चा तेल प्रतिब्यारल १४० अमेरिकी डलर पुुगेको थियो।