श्रम स्वीकृति लिनेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्समा पनि वृद्धि

श्रम स्वीकृति लिनेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्समा पनि वृद्धि फाईल फोटो

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो संख्या २२२.८ प्रतिशतले बढी हो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो।

रेमिट्यान्समा पनि वृद्धि

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।



No ads found for this position