बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

एजेन्सी।बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। स्थानीय समय अनुसार बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ। उनले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन्।
एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बनेकी थिइन्। उनको आफ्नो शासनकालमा व्यापक सामाजिक परिवर्तन आएको थियो।
एलिजाबेथको निधनपछि उनको सबैभन्दा जेठो छोरा तथा वेल्सका पूर्व राजकुमार चाल्स बेलायतको नयाँ राजा हुनेछन्।
‘महारानीको निधन आज बालमोरलमा भएको छ,’ बकिंघम प्यालेसले एलिजाबेथको निधन भएपछि जारी विज्ञप्तिमा भनेको छ।
एलिजाबेथले आफ्नो कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री देखेकी थिइन्। सबैभन्दा पहिला उनले सन् १८७४ मा जन्मेका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलसँग काम गरेकी थिइन्। पछिल्लो पटक उनले चर्चिल जन्मेको १०१ वर्षपछि जन्मेकी अर्थात सन् १९७५ मा जन्मेकी लिज ट्रसलाई प्रधानमन्त्रीको रुपमा देखेकी थिइन्।
एलिजाबेथको जन्मको सन् १९२६ अप्रिल २१ का दिन लण्डनमा भएको थियो। उनको जन्मको नाम एलिजाबेथ एलेक्सान्ड्रा मैरी विन्डसर थियो।
ताजा अपडेट
