साउदीमा पनि चर्को घाममा काम लगाउन नपाइने, गुनासो टिपाउन दूतावासको अपिल

साउदीमा पनि चर्को घाममा काम लगाउन नपाइने, गुनासो टिपाउन दूतावासको अपिल File Photo

साउदी सरकारले कुनै पनि कामदारलाई चर्को घाममा काम नलगाउन रोजगारदाता कम्पनीहरूलाई चेतावनी दिएको छ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय(श्रम मन्त्रालय)ले १५ जुनदेखि सेप्टेम्बर १५ सम्म दिउँसो १२ बजेदेख ३ बजेसम्म कुनै पनि कामदारलाई काममा लगाउन नपाउने सूचना जारी गरेको छ।

यो तीन महिनामा त्यहाँ चर्को घाम हुन्छ। जसका कारण कैयौं कामदारहरू विरामी पर्ने र गम्भीर पक्षघात भएर मृत्युसमेत भएका समाचारहरू हरेक वर्ष सार्वजनिक हुँदै आएका छन्।

मन्त्रालयले कुनै पनि रोजदारदाता वा कम्पनीहरूले नियमविपरीत काममा लगाएको पाइएमा उनीहरूलाई कारबाही हुने चेतावनी पनि दिएको छ। त्यसका लागि कुनै पनि कम्पनीले कामदारलाई चर्को घाममा काम गर्न बाध्य पार्ने छैन।

कामदारलाई यस्तो गर्न बाध्य पारे कामदाहरूले मन्त्रालयको गुनासो सुन्ने नम्बर १९९११मा फोन गरेर आफ्नो समस्या वा गुनासो टिपाउन सक्नेछन्। यो नम्बरमा फोन गर्न पैसा लाग्दैन।

यसबीचमा रियादस्थित नेपाली दूतावासले पनि यो सूचना नेपाली कामदारलाई दिएको छ।

दूतावासले नेपाली कामदारमाथि त्यहाँका कम्पनी सुपरभाइजर तथा अन्य व्यक्तिहरूले बिनाआधार कुटपिट गर्ने, हिंसा गर्ने अनि जवर्जस्ती गर्ने गरेका गुनासाहरू पनि दूतावासमा आइरहेको भन्दै सचेत रहन अपिल पनि गरेको छ।

दूतावासले त्यस्तो भएमा तुरन्त प्रहरी, मन्त्रालय वा दूतावासमा पनि सम्पर्क गर्न पनि भनेको छ।

‘कम्पनीका सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो दूतावासमा आउने गरेको छ’ उसले भनेको छ  ‘यदि यस्तो अवस्था छ भने प्रहरीलाई ९११ मा तुरून्तै सम्पर्क गर्न सकिनेछ। कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल-फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ।’

 



No ads found for this position