वैदेशिक रोजगारी : काठमाडौं धाउनैपर्ने बाध्यताको अन्त्य हुँदै

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित आवश्यक सबै काम भैरहवाबाटै सञ्चालन गर्ने तयारी थालेको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक सम्पूर्ण सेवा सुविधा रुपन्देहीमा नै उपलब्ध गराइने गरी काम अगाडी बढाइएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताए।

आगामी असार महिनादेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै नेपाली श्रमिक वैदेशिक रोजगारीमा उड्न सक्नेछन्। १ असारदेखि औपचारिक रुपमा नै यसको सुरूवात गरिने मन्त्री श्रेष्ठको भनाइ छ।

अहिलेसम्म रोजगारीका लागि विदेश जाने कामदारले अपनाउनुपर्ने प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्दथ्यो। म्यानपावर कार्यलयदेखि अन्तराष्ट्रिय विमानस्थल काठमाडौं केन्द्रित हुँदा कामदारले अन्तर्वार्तादेखि गन्तव्य मुलुकसम्म पुग्नको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ।

तर, गत सातादेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै विदामा आएका श्रमिक पुन : सोही काममा फर्किन भने काठमाडौं धाउनुपर्ने बाध्यता हटेकाे छ।

तर, भिसा र मेडिकल परीक्षणको सेवा काठमाडौमा नै सीमित हुँदा पहिलो पटक विदेश जाने कामदार भने काठमाडौं नै धाउनुपर्ने बाध्यता यथावत छ। मन्त्रायलले भने अबको एक महिनामा सबै खालको सेवा रुपन्देहीमा नै उपलब्ध गराउने दावी गरेको छ।

जहाँसुकैबाट सहजै श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने श्रमिकले यथास्थानमा नै बसेर सहजै अनलाइनमार्फत श्रम स्वीकृति लिन सक्नेछन्।

वैदेशिक रोजगार कार्यालय ताहाचलले प्रदान गर्ने सबै खालको श्रम स्वीकृतिको सेवा अनलाइनमार्फत नै लिन सकिने व्यवस्था गरिसकेको छ।

श्रमिकले कुनै पनि कुनामा बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिन सकिने श्रम कार्यलय ताहाचलका प्रमुख रमेश अर्यालले जानकारी दिए।

अर्यालका अनुसार श्रम स्वीकृति लागि मात्रै कोही पनि श्रमिक काठमाडौं धाउनु पर्दैन्। पुनः श्रम स्वीकृति सेवा अनलाइनमार्फत नै उपलब्ध गराइएका हुँदा श्रमिकले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै फेरि गन्तब्य मुलुकमा फर्कन सक्नेछन्।

कार्यलयले गत २०७८ माघ २ गतेदेखि पुनस् श्रम स्वीकृति, २०७९ बैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत लिन सकिने व्यवस्था गरेको हो। यस्तै २ बैशाखदेखि नयाँ श्रम स्वीकृति समेत अनलाइनमार्फत नै लिन सकिने व्यवस्था लागू गरेको छ।

नयाँ श्रम स्वीकृति लिँदा श्रमिकले भिसा करार सम्झौतापत्र, मेडिकल रिपोर्ट, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमुलुक रोजगारमा जान सिप सिकको प्रमाणपत्र, स्वघोषणा फारम अपलोड गर्नुपर्नेछ।

त्यस्तै कामदारले अनलाइनमार्फत नै म्यादी जीवन विमा र कल्याणकारी कोषको रकम पनि भुक्तानी गर्न सक्नेछन्। भुक्तानीपछि जम्मा गरेको प्रमाण समेत अपलोड गर्नुपर्नेछ।

त्यस्तै, घरेलु कामदारका रुपमा विदेशमा काम गरी विदामा आइ फेरि सोही काममा फर्कन चाहने कामदारले भने पुनस् श्रम स्वीकृति लिन सम्बन्धित देशस्थित नेपाली दूतावासको सिफारिस पत्र अपलोड गर्नुपर्नेछ।

रोजगारीमा जाँदा कामदारले अभिमुखीकरण तालिम पनि लिनुपर्नेछ। मन्त्रालयका अनुसार तालिम दिने संस्था भैरहवामा समेत उपलब्ध भएकाले तालिमका लागि मात्रै काठमाडौ पुग्नु नपर्ने बताएको छ।

भिसा सेन्टर र मेडिकल पनि भैरहवा पठाइने

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै गन्तब्य मुलकमा जान चाहने नेपाली कामदार भिसा र मेडिकल परीक्षणको लागि काठमाडौ नै आउनुपर्ने बाध्यता छ।

हालसम्म म्यानपावर कम्पनीले शाखा विस्तार गरेका छैनन् र स्वास्थ्य परीक्षण संस्था पनि काठमाडौ केन्द्रित छन्। जसले गर्दा पहिलो पटक विदेश जाने कामदार काठमाडौंमै आउनुपर्ने बाध्यता छ। तर, श्रममन्त्री श्रेष्ठले भने केही दिनमा नै रुपन्देहीमा शाखा कार्यालय विस्तार गरिने बताउँछन्।

हालको व्यवस्था अनुसार कतार जाने कामदारले कतार भिसा सेन्टरबाट नै मेडिकल परीक्षण गर्नुपर्नेछ । कतार भिसा सेन्टर काठमाडौंमा मात्रै छ। त्यस्तै साउदी अरब, बहराइन र ओमन जाने कामदारले गाम्का (गल्फ अप्रुभ मेडिकल सेन्टर एशोसियसन) अन्र्तगत रहेको १२ वटा मेडिकलबाट मात्रै परिक्षण गर्नुपर्नेहुन्छ। यी स्वास्थ्य संस्थाहरू पनि काठमाडौंमा मात्रै छन्।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा मेडिकल छनोट भएका छन्। ती मेडिकल पनि काठमाडौंमा नै केन्द्रित छन्। तर, यूएई र कुवेत जाने कामदारले भने कुनै पनि मेडिकलमा परीक्षण गर्न सक्नेछन्।
श्रम मन्त्रालयले सम्बन्धित मुलुकका राजदूतलाई बोलाएर रुपन्देहीमा नै सबै व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताएका छन्।

 



No ads found for this position