कार्यभार सम्हाल्न अमेरिका आइपुगे खतिवडा, वासिंटन डिसीमा गरियो स्वागत

कार्यभार सम्हाल्न अमेरिका आइपुगे खतिवडा, वासिंटन डिसीमा गरियो स्वागत

वासिंटन डिसी । नवनियुक्त नेपाली राजदूत डा. युवराज खतिवडा आफ्नो कार्यभार सम्हाल्न अमेरिका आइपुगेका छन् । राजदूत खतिवडा कतार एयरलाइन्सको उडानमार्फत शनिबार दिउँसो पौने तीन बजे वासिंटन डिसी आएका हुन् ।

उनलाई विमानस्थलमा वासिंटन डिसीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन कुमार खरेलसहितको टोलीले स्वागत गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।

राजदूत खतिवडा नेपाली अर्थविद् तथा नेपालका पूर्व अर्थमन्त्री समेत हुन् । उनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए। । उनीसँग कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव पनि छ ।

खतिवडाले नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उनले केही समय सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पनि सम्हालेका थिए ।

राजदूत डा. खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् ।

अमेरिकाका लागि पूर्वराजदूत डाक्टर अर्जुनबहादुर कार्की आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किसकेका छन्। कार्की टर्किस एयरलाइन्समार्फत शुक्रबार बेलुका नै नेपाल फर्केका हुन् ।