मलेसियन अध्यागमनद्धारा १६ नेपाली पक्राउ

मलेसियन अध्यागमनद्धारा १६ नेपाली पक्राउ तस्वीर : मलेसियन अध्यागमन विभाग

सेनाइ,मलेसियामा । मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित ८६ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ। अवैधानिक हैयितमा रहेका उनीहरु गत शनिवार जोहरबारुको सेनाइ औद्योगिक क्षेत्रबाट पक्राउ परेका हुन्।

अध्यागमन विभागका महानिर्देशक दातो श्री खैरुल जैमी बिन दाउदको नेतृत्वमा रहेको जोहर राज्यको इन्फोर्समेन्ट डिभिजनका ५२ जना अधिकारीको टोलीले उक्त ठाँउमा अपरेशन सञ्चालन गरेको थियो।

अध्यागमनका गुप्तचरले करिव एक महिनासम्म त्यहाँ रहेका अवैधानिक श्रमिकको बारेमा अनुसन्धान गरेका थिए। सोही अनुसन्धानको आधारमा विभागले त्यहाँ रहेका कारखानामा शनिबार राति साढे १० बजे छापा मारेको थियो।

अपरेसनमा १८५ विदेशी श्रमिकको चेकजाँच गरिएको थियो। चेकजाँचको क्रममा १६ नेपालीसहित ६४ भारतीय, ३ म्यानमार र ३ बंगलादेशी गरी ८६ जनालाई नियन्त्रणमा लिएको हाे। ती सबै २० देखि ४० वर्ष उमेर समूहका भएको अध्यागमन विभागले जनाएको छ।

पक्राउ गरिएकाबाट कुनै पनि वैधानिक कागजात फेला नपरेको बताइएको छ। उनीहरुमाथि अध्यागमन ऐन १९५९ को ६३ उल्लङ्घन गरेको आरोप छ।

उनीहरुलाई थप कारबाहीका लागि सेतिया ट्रोपिका अध्यागमन कार्यालय जोहरबारुमा हिरासतमा राखिएको छ।



No ads found for this position