आबुधाबीस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी सेवा सुरु

आबुधाबीस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी सेवा सुरु

आबुधाबी । यूएईको आबुधाबीमा रहेको नेपाली राजदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु भएको छ।

पहिलो पटक झापाका प्रदिप चौधरीको लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार आउँदो सोमबारदेखि विद्युतीय राहदानी जारी गरिनेछ। राहदानी सेवा लिन दूतावासबाट अग्रिम रुपमा समय लिनुपर्नेछ।

विद्युतीय राहदानीको लागि https://emrtds.nepalpassport.gov.np/  बाट भरेको दुईप्रति फाराम आवश्यक पर्नेछ। राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, सक्कल राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र राहदानीमा यूएईको भिसा भएको पानाको प्रतिलिपिसहित दूतावासमा आफैं उपस्थित हुनुपर्नेछ।

हराएको राहदानीको हकमा भने प्रहरी प्रतिवेदन आवश्यक पर्नेछ। ३४ पेजको राहदानी बनाउन २ सय दिराम दस्तुर लाग्नेछ भने ६४ पेजको राहदानी बनाउन ४ सय दिराम लाग्ने दूतावासले जनाएको छ। यस्तै राहदानी हराएको, च्यातिएको वा केरमेट भएमा भने दोब्बर दस्तुर लाग्नेछ।

नाबालकको हकमा यूएईको परराष्ट्र मन्त्रालयबाट र नेपाली दूतावासबाट प्रमाणित भएको जन्मदर्ताको प्रमाणपत्र र प्रतिलिपि, आमाबुवाको राहदानी, नागरिकता र भिसाको प्रतिलिपि तथा बाबुआमाको विहे दर्ताको प्रमाणपत्र आवश्यक पर्नेछ।

राहदानी बनाउन आवश्यक फोटोलगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

 



No ads found for this position