एनआरएनएको एसिया सम्मेलनमा गृहमन्त्री र युवा सम्मेलनमा अर्थमन्त्री प्रमुख अतिथि

एनआरएनएको एसिया सम्मेलनमा गृहमन्त्री र युवा सम्मेलनमा अर्थमन्त्री प्रमुख अतिथि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्ने भएका छन्।

आउँदो मार्च १७ देखि १९ सम्म कम्बोडियामा हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा गृहमन्त्री लेखकलाई बोलाइएको संघले जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधि मण्डलले मन्त्री लेखकलाई भेटेर कम्बोडिया सम्मेलनको निम्तो दिएको हो। एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ग्लोबल युवा सम्मेलनका विषयमा आइतबारको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो।

यस्तै १५ मार्चदेखि थाइल्याण्डको राजधानीको बैंककमा आयोजना गरिएको युवा सम्मेलनलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने भएका छन्।

बैंकक युवा सम्मेलनपछि सोही प्रतिनिधि मण्डल कम्बोडिया प्रस्थान गर्ने तालिका छ।

कम्बोडिया सम्मेलनमा सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा बृहत छलफल हुने बताइएको छ। अध्यादेशमा गैरआवासीय नागरिकता बाहक नेपालीलाई १० वर्षसम्म मात्र भिसा निःशुल्क हुने प्रावधान ल्याइएपछि अधिकाशं गैरआवासीय नेपाली निराश भएका छन्।

अध्यक्ष केसीसँगको भेटमा गृहमन्त्री लेखकले अध्यादेश प्रतिस्पाथन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाइने प्रतिबद्धता जनाएका छन्।

संघले गैरआवासीय नेपाली नागरिकताको सवालमा संविधानले परिकल्पना गरेको अधिकारलाई सम्बोधन नगरेको र संविधानको धारा १४ को मर्म अनुसार नभएको भन्दै गृहमन्त्रीकोे ध्यानाकर्षण गराएको थियो। कम्बोडिया सम्मेलनमा यी विषयमा संसारभरका प्रतिनिधिले गृहमन्त्रीसँग छलफल गर्ने बताइएको छ।

सम्मेलनमा एसिया क्षेत्रमा रहेका गैरआवासीय नेपालीका समस्या तथा मुद्धाहरुमा व्यापक छलफल हुनेछ।

सम्मेलनमा घका केन्द्रीय पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल सरकारका उच्च सरकारी अधिकारीहरुको सहभागिता रहनेछ।

 



No ads found for this position