ग्रीसमा दूताबास नहुँदा समस्यामा नेपालीहरु

ग्रीसमा दूताबास नहुँदा समस्यामा नेपालीहरु Photo : Social Media

काठमाडौँ। जागिरको खोजीमा विभिन्न मुलुक हुँदै ग्रीस पुग्ने नेपालीहरुको संख्या बढ्दै जाँदा उनीहरुको समस्या पनि जटिल बन्दै गएको छ। एक दशकअघिसम्म मात्रै पनि सीमित संख्यामा रहेका नेपालीहरु अहिले करिब २० हजारको हाराहारीमा पुगेको गैरआवासीय नेपाल संघ (एनआरएनए) ग्रीसका अध्यक्ष कृष्ण पोखरेलको भनाइ छ।

“अहिले भिसा लिएर वा अनधिकृत रुपमा ग्रीस पुग्ने नेपालीको संख्या करिब २० हजार पुगेको हाम्रो अनुमान छ”, उनले भने, “रोमानिया हुँदै गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्ने र अनधिकृत रुपमा काम गर्नेहरु बढी समस्यामा पर्ने गरेका छन्।” उनका अनुसार त्यहाँ पुग्ने अधिकांश नेपालीहरु कृषिमै काम गर्छन्। उनीहरुले स्ट्रबेरीदेखि सुन्तला टिप्ने काम बढी पाउँछन् भने थोरै संख्याका नेपालीहरुले होटल तथा रेष्टुरेन्टमा पनि काम पाएको अवस्था छ। यद्यपि आफ्नो काममा दक्ष नहुँदा कम पैसामा काम गर्नुपर्ने बाध्यतामा उनीहरु रहेको पोखरेलको अनुभव छ।

“एक पटक ग्रीस प्रवेश गरौँ, त्यसपछि जे हुन्छ बेहोरौँला भन्ने मानसिकताले आउनेहरुका कारण समस्या हुने गरेको छ, न उनीहरुसँग पासपोर्ट नै हुन्छ न त अरु कुनै आधार नै हुन्छ”, उनले भने, “यस्तो अवस्थामा उनीहरुले ग्रीसमा अरुबाट सहयोग पाउने सम्भावना निकै कम हुन्छ।”

ग्रीसमा नेपालको दूतावास छैन । त्यहाँको सबै काम अष्ट्रियाको दूताबासले हेरिरहेको छ। ग्रीसमा दूताबास नहुँदा पासपोर्ट बनाउने समस्या ठूलो छ। पोखरेलका अनुसार विभिन्न मुलुकबाट गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्नेहरुले पासपोर्ट पहिले नै फालिसकेका हुन्छन्। यस्तो अवस्थामा उनीहरु कानूनी रुपमा बलियो हुँदैनन्। त्यसैले उनीहरुको पासपोर्ट बनाउन समस्या हुन्छ। त्यसबाहेक त्यही जन्मिएका बालबालिका तथा पासपोर्टको नवीकरण गर्नेहरु पनि समस्यामा पर्ने गरेका छन्।

“गत वर्ष अष्ट्रियाबाट ग्रीस पुगेको दूतावासको टोलीले घुम्ती शिविरमार्फत ८७५ जनाको पासपोर्टसम्बन्धी काम गरेको थियो, तर गैरकानूनी रुपमा बसोबास गरिरहेकाहरुको समस्या समाधानमा भने केही काम हुन सकेन”, उनले भने, “आजका दिनमा उनीहरुको अवस्था जे जस्तो भए पनि नेपाली भएका नाताले नेपाल सरकारले उनीहरुको समस्या समाधान गर्नका लागि ध्यान दिनुपर्छ।”
ग्रीसमा अर्को समस्या शव व्यवस्थापनको हो। केही दिनअघि मात्रै एक जना नेपाली युवकले आत्महत्या गरे। तर उनको शव नेपाल पठाउनका लागि पैसा छैन। अहिले पनि उनको शव त्यहीको स्थानीय अस्पतालमै रहेको अध्यक्ष पोखरेलको भनाइ छ। “एनआरएनएन ग्रीस पनि लामो समयसम्म अव्यवस्थित रुपमै रह्यो, नेपाली संगठित पनि नभएकाले शव नेपाल पठाउन गाह्रो भइरहेको छ”, उनले भने, “आगामी दिनमा यसप्रकारका समस्या नआउन भन्ने उद्देश्यले केही काम गर्ने योजना भने बनाएका छौँ।”

ग्रीसबाट नेपालमा एउटा शव पठाउनका लागि करिब सात लाख रुपैयाँ खर्च हुन्छ। अधिकांश नेपालीहरु न्यून ज्यालामा काम गरिरहेकाले उनीहरु सहयोग गर्न सक्ने अवस्थामा हुँदैनन्। त्यसैले सामाजिक सेवाका लागि पैसा जुटाउन पनि समस्या भइरहेको पोखरेलको बुझाइ छ।

पोखरेल भन्छन्, “म २८ वर्षअघि ग्रीस पुग्दा नेपालीको संख्या औँलामा गन्न मिल्ने खालको थियो, अहिले त जता पनि नेपाली नै भेटिन्छन्, तर उनीहरु अधिकांश अनधिकृत रुपमा प्रवेश गरेकाले समस्यामा परिरहेका छन्।”

उनी ग्रीस जाने जो कोहीलाई पनि राम्रोसँग बुझेर मात्रै जान सुझाव दिन्छन्। उनका अनुसार अहिले सामाजिक सञ्जालहरु फेसबुक, टिकटकलगायतबाट राम्रो कामका लागि ग्रीस पठाइदिने भन्दै विज्ञापन भइरहेकामा असन्तुष्टि व्यक्त गर्छन्। “ग्रीस सरकारले चार लाख कामदारको आवश्यक छ भनिसकेको अवस्थामा नेपालमा त्यसैलाई देखाएर वैदेशिक रोजगारीका नाममा ठगीको भइरहेको देखिन्छ, विभिन्न मुलुक हुँदै ग्रीस लैजाने र अलपत्र छाडिदिनेहरु धेरै भएपछि नेपालीहरुले दुःख पाइरहेका छन्”, उनले भने।
त्यसैले ग्रीसमा जानेहरुको पहिले राम्रोसँग बुझेर मात्रै जान उनी अनुरोध गर्छन्। यसका लागि आफूहरुले पनि एउटा पोर्टल बनाएर त्यसैमार्फत सही जानकारी दिने तयारी गरिरहेको उनको भनाइ छ।



No ads found for this position