एनआरएनएका पदाधिकारी र बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटर्वार्ता गरेको छ।
सोमबार भएको उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा छलफल भएको थियो।
उक्त अवसरमा संघका अध्यक्ष डा बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्याइरहेको योगदान लगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए। नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा केसीले उल्लेख गरे।
संघका उपाध्यक्ष डा. बिनोद श्रेष्ठले डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए।
यस्तै महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका बिट्रिश गोर्खाको मुद्दा स्मरण गराउँदै नेपाल र बेलायत सरकारले उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिइन। उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराइन।
उक्त अवसरमा नेपाल फेस्टिवल, दोस्रो पुस्ताको डायस्पोरा लगायतका विषयमा पनि छलफल भएको थियो।
भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिँदै नेपाल र बेलायतका बीच सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रन नसक्नुको कारणबारे खोजी गरी बढी भन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताए। उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा संघका सहकोषध्यक्ष कृष्ण प्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको समेत उपस्थिति थियो।
ताजा अपडेट
