पाकिस्तानको रेलस्टेशनमा विष्फोट, २५ जनाको मृत्यु

पाकिस्तानको रेलस्टेशनमा विष्फोट, २५ जनाको मृत्यु सांकेतीक तस्वीर

काठमाडाैँ। पाकिस्तानको राजधानी क्वेटाकाे रेल प्रतिक्षालयमा बम विस्फोट हुँदा कम्तीमा २५ जना मारिएका छन् भने ५० जना भन्दा बढी घाइते भएका छन्।

शनिबार बिहान क्वेटामा मानिसहरू रेल चढ्न प्रतीक्षा गरिरहेको बेला बम विस्फोट गराइएकाे थियाे। रेल क्वेटाबाट पेशावर छुट्ने तयारीमा थियाे।

मानिस जम्मा भएकाे अवस्थामा बम विस्फोट भएकाेले जनधनकाे क्षति भएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उक्त विस्फोट बलोचिस्तान लिबरेसन आर्मी नामको लडाकु समूहले गराएकाे हाे। जसकाे जिम्मा पनि उसले लिइसकेकाे छ। प्रहरीले उक्त हमला आत्मघाती रहेको जनाएको बिबिसीले लेखेकाे छ।

स्थानीय स्रोतहरूमाथि नियन्त्रण र स्वतन्त्रताको माग गर्दै पछिल्लो समय उक्त प्रान्तमा घातक आक्रमणका घटनाहरूमा वृद्धि भएका छन्।

वरिष्ठ प्रहरी अधिकारी मोहम्मद बलोचले आत्मघाती आक्रमणकारीले ६ देखि ८ किलोग्रामसम्मको विस्फोटक पदार्थ प्रयोग गरेको हुनसक्ने ठानिएको बताए। उनका अनुसार मारिनेमा सर्वसाधारण र सैनिकहरू दुवै छन्।

सामाजिक सञ्जालमा देखा परेका विस्फोटको समयका भिडिओहरूमा रेल स्टेसनमा दर्जनौँ मानिसहरू देखिएका छन्।

घटना लगत्तैको दृश्य पनि सामाजिक सञ्जालमा फैलिएको छ। जसमा घाइते अवस्थामा रहेका कैयौँ मानिसहरू र विस्फोटको भग्नावशेष रेल स्टेसनमा छरिएको देखिन्छ। रेल स्टेसनको एकापट्टिको छानो आधा खसेको भिडिओमा देखिन्छ।