ट्रम्पको पुनरागमनले कति फरक पार्छ विश्वलाई ?

ट्रम्पको पुनरागमनले कति फरक पार्छ विश्वलाई ? In this July 17, 2019, photo, President Donald Trump arrives to speak at a campaign rally at Williams Arena in Greenville, N.C. (AP Photo/Carolyn Kaster)

काठमाडाैँ। कडा प्रतिष्पर्धा, कडा आलोचना अनि अनेकौं आरोपहरूको पहाड छिचोल्दै डोनाल्ड ट्रम्पले फेरि एकपटक ह्वाइट हाउसको यात्रा तय गरेका छन्।

पहिलोपटक २०१७मा चुनाव लड्दा उनलाई हिलारी क्लिन्टनले कडा चुनौती दिएकी थिइन्। सन् २०१९मा कडा प्रतिष्पर्धाका बीच जो बाइडनले उनलाई पराजित गरे।

लगातार ह्वाइटहाउसमाथि प्रभुत्व राख्ने उनको सपना त्यहीँनेर ‘ब्रेक’ भयो। ह्वाइटहाउस छोड्नुपर्ने दिनमा उनका समर्थकहरूले त्यहाँ गरेकाे हूलदंगाकाे आराेप उनले पछिसम्म खेपिरहे।

यो बीचमा उनलाई दर्जनौं अभियोगहरू लगाइएको थियो। कतिपय मुद्दामा उनी दोषी पनि करार भए। एकजना महिलासँगको यौन सम्बन्ध लुकाउनु गैरकानुनीरुपमा रकम दिएको भन्ने आरोपमा उनलाई अदालतले दोषी पनि बनायो।

तथापि उनी फेरि राष्ट्रपतिको दौडमा लागिरहे। र, यसपालि पनि एकजना महिला कमला ह्यारिसले उनलाई निकै कडा चुनौती दिइन्। अमेरिकी इतिहासमा पहिलोपटक एक अश्वेत र आप्रवासी मूलकी महिलाले राष्ट्रपतिको चुनावमा दिएको यो चुनौतीबीच चुनावमा लैंगिक तथा जातीय र सांप्रदायिक मुद्दाहरू पनि बल्झिएका थिए। ह्यारिस जो बाइडेनकी उपराष्ट्रपति हुन्।

यसका वावजुद बुधबार मतपरिणामले ट्रम्पलाई ह्वाइटहाउसमा मात्रै होइन दुबै सदनहरू बलियो अभिमत दिएको छ। जसलाई उनले ‘अमेरिकाले दिएको ऐतिहासिक मत’ भनेर आभार व्यक्त गरेका छन्।

निकै कडा अनि चाखलाग्दो मानिएको निर्वाचन परिणाममा ७८ वर्षीय ट्रम्पले राष्ट्रपति हुन चाहिने भन्दा बढी सिट (इलेक्टोरल मत) पाए। ट्रम्पलाई चुनौती दिएकी कमला ह्यारिस २२३ सिटमै सिमित भइन् तर ट्रम्प २७९ सिटसम्म उक्लिए।

एउटा ‘निरन्तरतालाई क्रम भंग’ गरेर दोस्रो कार्यकाल राष्ट्रपति हुने ट्रम्प दोस्रो अमेरिकी हुन्। यसअघि सन् १८८५मा राष्ट्रपति चुनिएका ग्रोभर क्लिभलेन्ड पनि लगातार दोहोरिन चाहन्थे। तर सकेनन्। अर्कोपटक १८९३ मा फेरि ग्रोभर राष्ट्रपति भए। त्यसको लगभग १३२ वर्षपछि ट्रम्पले त्यही इतिहास दोहोर्‍याए।

सन् १९४६ जुन १४मा न्यूयोर्कमा एउटा धनी व्यापारिक परिवारमा जन्मिएका ट्रम्प राष्ट्रपति हुनुभन्दाअघि अमेरिकाका एक शीर्ष ब्यापारी थिए। सैनिक विद्यालयमा पढेका उनले आफ्नो कलेज शिक्षापछि बुवाकै ब्यापार सम्हाल्न थाले। उनका बुवा घरजमिनको ब्यापारी थिए र ट्रम्पले त्यो ब्यापारलाई पछि निकै फैलाए।

पाँच वर्षपछि ह्वाइटहाउसमा ट्रम्पको पुनरागमन हुँदै गर्दा विश्व धेरै बदलिइसकेको छ। आधा विश्व युद्धले तनावग्रस्त छ। जलवायु परिवर्तनका असरले पृथ्वीको स्वरुप फेरिन थालेको छ। यस्तो अवस्थामा उनले अब दोस्रो कार्यकाल कस्तो नीति र शासन अपनाउँछन् भन्ने विश्वव्यापी चिन्ता छ।

अघिल्लो कार्यकालमा उनले आफूले वाचा गरेको एउटा सपना पूरा गर्न सकेनन्। त्यो भनेको ‘मेक्सिको सीमानामा पर्खाल लगाउने’ थियो। त्यो बेला उनलाई अमेरिकी कंग्रेसले साथ दिएन र पर्खाल सिमाना बन्द गर्नेगरी त्यो अग्लो र भव्य पर्खाल बनाउनका लागि उनले पर्याप्त बजेट जुटाउन सकेनन्।

‘अमेरिका प्रथम’को उग्रराष्ट्रवादी नारा दिएर रैथाने अमेरिकीहरूको साथ र समर्थन पाएका ट्रम्प अमेरिका छिर्ने सारा अवैध बाटाहरू बन्द गर्न चाहन्छन्। यस हिसावमा उनी आप्रवासनको मुद्दामा निकै कडा छन्। आम विश्वको चासो र त्रास पनि यही हो। यसपालिको चुनावी अभियानमा पनि उनले यी मुद्दाहरूलाई उत्तिकै महत्वका साथ उठाएका थिए।

उनी चाहन्छन् अमेरिकी भूमिमा पहिलो अधिकार र स्वामित्व अमेरिकीकै हुनुपर्छ। यसपालि आप्रवासीको मुद्दामा उनी यति कडा देखिएका छन् कि उनले कानुनीरुपमा अमेरिका बस्न अनुमति नपाएकाहरूलाई सामूहिकरुपमा देश उनीहरूकै देश पठाउने नीति ल्याउने चुनावी वाचा गरिसकेका छन्।

यसबाट अमेरिकामा त्यसरी गैरकानुनीरुपमा रहेका करोडौं आप्रवासीहरूको सपना त भत्किनेछ नै त्यसबाट अमेरिकाले पनि ठूलो आर्थिक तथा अरु वैश्विक मूल्य चुकाउनुपर्नेछ।

त्यस्तै अर्को प्रमुख मुद्दा भनेको गर्भपतनको मुद्दा हो। अमेरिकामा केही निश्चित अवधिभित्र गर्भ पतन गर्न पाइने वा नपाइने भन्ने राजनीतिक र सामाजिकस्तरमै विवाद छ। ट्रम्पले यसअघि पनि यस्तो अधिकार राज्यहरूलाई दिनुपर्ने भनेका थिए। कतिपय अदालतहरूले यो कानुनलाई मान्यता दिएका छन्। तर ट्रम्पको रिपब्लिकन पार्टीले गर्भपतनलाई ‘पाप’ ठान्छ। पूरा विश्वले नै यो मुद्दालाई पनि निकै चासोका साथ हेरिरहेको छ।

अमेरिकी मध्यमवर्गले भोगिरहेको अत्यधिक मूल्यवृद्धिलाई कम गर्ने ट्रम्पको अर्को चुनौती हो। कार्यकाल सम्हालेलगत्तै त्यसमा कदम चाल्ने घोषणा यसअघि नै ट्रम्पले गरिसकेका थिए। त्यसका लागि उनले पेट्रोलियम उत्खनन् चाहन्छन्। तर अहिले जलवायु परिवर्तनको मुद्दा विश्वमा यसरी जवर्जस्त भइसकेको छ कि अमेरिकाले पेरिस सम्झौताका आफ्नै बाचाहरू पूरा गर्ने समयसीमा कट्न लागिसकेको छ। यस्तो बेलामा ती जीवाष्मा इन्धनको खपत घटाउनुको साटो ट्रम्पले त्यसको उत्खनन् गर्दा विश्व जलवायु परिवर्तनसँग जुध्न खोजिरहेको विश्वका लागि अर्को चिन्ताको विषय हुनेछ। यद्यपि पहिलो कार्यकालमा ट्रम्पले पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका थिए। यसपालि पनि जलवायु परिवर्तनका मुद्दालाई उनले कति स्वीकार गर्लान् भन्ने वैश्विक चिन्ता व्याप्त छ।

अर्को सारा विश्वले निकै चासो र महत्वका साथ हेरिरहेको मुद्दा भनेको उनले अख्तियार गर्ने विदेश नीति हो। हिँज पनि ट्रम्प विदेश नीतिमा एक्ला थिए। यद्यपि उनको पहिलो कार्यकालमा अमेरिका कुनै पनि युद्धमा फँसेन। बरु अफगानिस्तानबाट आफ्ना सैनिकहरू फिर्ता लगेर ट्रम्पले विश्वकै ध्यान खिचेका थिए।

यसपालि मध्यपूर्व पूरै युद्धमा छ। तीन वर्षदेखि रुस युक्रेन युद्ध चर्किरहेको छ। गत वर्षदेखि इजरेल हमास, हिज्बुल्लाह, इरानलगायतका देश र समूहसँग लडिरहेको छ। खाडी राष्ट्रहरू आपसमै विभाजित छन्। यस्तो अवस्थामा ट्रम्पले कस्तो विदेश नीति अख्तियार गर्लान्?

हुन त चुनावीसभामा उनले आफूले पद सम्हालेको केही घण्टामै गाजा तथा रुस-युक्रेन युद्ध रोक्नसक्ने वाचा गरेका छन्।

यसपालि उनलाई एकजना धनाढ्य एलोन मस्कले खुलेरै साथ दिए। उनले ट्रम्पको चुनावी अभियानलाई समर्थन र दानमात्रै दिएनन् आफू मालिक रहेको सामाजिक सञ्जाल ट्वीटरको पनि त्यसमा मज्जैले प्रयोग गरे। सूचना प्रविधिको व्यापारबाट विश्वकै सबैभन्दा धनी मान्छेको सूचीमा परेका युवा व्यापारी एलोनले ट्रम्पको चुनावी अभियानलाई समर्थन गर्ने मतदाताहरूलाई हरेक दिन दशौ लाख डलर पुरस्कार दिए।