अनुमति बिना जापान गएपछि विवादमा तानिएका कोशीका मन्त्री अधिकारीले दिए राजीनामा
काठमाडौं। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।
मन्त्रिपरिषद्काे स्वीकृत बिना जापान भ्रमणमा गएको विषय विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन्।
उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
उनले जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारमा आफूले मन्त्री पदबाट राजीनामा दिएकाे उल्लेख गरेका छन्।
‘यहि २०८१ सालको तिहार विदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केहि प्रक्रियागत विषयमा उठेका प्रश्नहरुको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्ण भएको छ। यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजिनामा गरी नेतृत्वलाई सहयोग पुर्याउनु उचित ठानी अन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीपदबाट राजिनामा गरेको छु,’ उनले भनेका छन्।
अधिकारी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए। त्यसपछि उनी विवादमा तानिएका थिए।
उनी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा (एमाले)का सांसद हुन्।