‘भीड’तन्त्रकाे रबैया र रास्वपाकाे उकुसमुकुस
काठमाडाैं। ‘सहकारी ठगी प्रकरण’मा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र उपाध्यक्ष छविलाल जोशीउपर हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढेलगत्तै मलेसियामा ‘लुकी बसेका’ गोर्खा मिडियाकै अध्यक्ष जिबी राई र उनीनिकट भनिएका कतिपय व्यक्ति उता र यताबाट सक्रिय हुन थालेका छन्।
पूर्वगृहमन्त्री रविकै कारण ‘ज्यान जाने डरले आफू भाग्नु परेको’ र सहकारी ठगीको अनुसन्धानमा सघाउन नसकेको जिबीले जनाएका छन्। सोमबार दिउँसो जनआस्थाको सम्पर्कमा आएका जिबी र रविका पूर्व सहयोगीसमेत रही अहिले देशबाहिर बस्दै आएका एकजना व्यक्तिले ग्यालेक्सी टेलिभिजन खोल्नुअघि ठमेलको ‘होटेल मनाङ्ग’मा बसेको मिटिङसम्बन्धी जानकारी दिएका छन्।
उनका अनुसार कोभिडको बन्दाबन्दीअघि, ग्यालेक्सी टेलिभिजन खोल्नुअघि रवि, छविलाल जोशी र दिपक बोहोरा जिबीको टोलीलाई भेट्न ठमेल पुगेका थिए। त्यो बैठकमा रवि समूहले जिबीलाई ग्यालेक्सी खोल्न मात्र हौस्याएनन्, सहकारीको पैसा ल्याउने उपाय र ६ महिनाभित्र ‘झण्डै एक अर्ब रकम उठाउने सपना’ पनि देखायो।
‘उतिबेला रविको कस्तो रहरलाग्दो क्रेज थियो ! उनका पछि कम्ता मान्छे थिए? यही देखेर जिबी राई सहकारीको पैसा खन्याउन तयार भए,’ ती सहयोगीले भने, ‘ग्यालेक्सीलाई कान्तिपुरभन्दा खत्रा र जिबीलाई कैलाश सिरोहियाभन्दा शक्तिशाली मालिक बनाउँछू भन्थे रवि।’
०००
उनी भन्छन्– जिबी नराम्रो मान्छे होइनन्, सहयोगी नै थिए। माग्नेलाई सजिलै ऋण दिन्थे। त्यसो त आफ्नो नेटवर्किङ्ग कारोवारमा सीधा कुराबाट सेकिइसकेका जिबी रविबाट फेरि पनि आक्रमण हुनसक्ने डरले तर्सिएका थिए, आकर्षक प्रस्तावबाट प्रभावित पनि भए। ‘जिबीको सहयोगी स्वभावको रविले मज्जैसँग फाइदा उठाए,’ उनी भन्छन्।
रविले जिबीलाई २ सय जना मारवाडीको नाम देखाए, तिनले खोलेका बैंकहरुबाट समेत टिभी खोलेपछि सय करोड रकम उठाउने सपना देखाए। रवि जिबीलाई भन्थे, ‘मारवाडीहरू सबै तस्कर हुन्। यिनीहरूलाई तर्साउँदै २ सय करोड उठाउन सकिन्छ। पहिले टेलिभिजन खोलौँ। पैसा ६ महिनामै उठ्छ।’
न्युज२४ का साहु अनिल जोशीसँग अघाइसकेका रवि घमण्डका साथ भन्थे– ‘मैले भन्दा सबैले विज्ञापन र पैसा दिन्छन्।‘ जिबी र रविका ती पूर्व सहयोगीको दाबी छ– सहकारीको पैसा ग्यालेक्सीमा खन्याउने योजनाका मुख्य योजनाकार उनै रवि हुन्। हायात र र्याडिसनमा टिभी लन्चिङ्गको मदिरा पार्टीका निम्ति करोडौँ खर्च कहाँबाट आयो?
०००
कतिसम्म भने रवि लामिछानेले गृहमन्त्री हुनेबित्तिकै तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई तुरुन्तै सिआइबीमा लगे। त्यतिबेला रास्वपाका केन्द्रीय सदस्य मोहनजङ्ग थापा अमेरिकाबाट पैसा उठाउन काठमाडौँ ओर्लिसकेका थिए। उनी हुन्डीमार्फत् अमेरिकाबाट नेपाल पैसा ओसारपसार गर्थे।
रविको पैसा उठाउने मुख्य नाइके मोहन नै मानिन्छन्, जसको बारेमा ढाकाकुमार श्रेष्ठले पनि पोल खोलिसकेका छन्। उनी अहिले अमेरिकामै छन् तर रवि मन्त्री बन्नासाथ नेपाल आइहाल्छन्। गृहमन्त्री भएपछि पनि रविले छाडेनन् जिबी राईबाट पैसा उठाउन। ‘तिमी त्यतै बस, यता सहकारीको मुद्दा मिलाउँछु’ भन्दै झण्डै ९ करोड फेरि लिए। जिबीले पनि खुरुखुरु त्यो माग पूरा गरिदिए। त्यो पैसा ज्ञवालीमार्फत् दुबई र मोहन थापामार्फत् अमेरिका पुगेको जिबीनिकटहरूको दाबी छ।
यसबीच रविका नाममा रहेको पहिलो पत्नी इशा श्रेष्ठ र दुई छोरी बस्ने अमेरिकाको घरको लोन पनि चुक्ता भइसकेको छ– मोहनमार्फत्। अनि, ज्ञवालीमार्फत् ससुराली खलकको स्वामित्वमा रहेको गोपीकृष्ण हलको लोन पनि गृहमन्त्री भएकै बेला बैंक र व्यापारी तर्साउँदै मिलान गरेको स्रोतको दाबी छ।
आजकल नेपालमा ‘हुलतन्त्र’ हाबी हुँदैछ। मिडिया र पत्रकारले सहकारी ठगीको भण्डाफोर गर्दा सामाजिक सञ्जालमा गाली बर्साउने ‘घण्टे र टंके’हरूको बिगबिगी छ। नयाँ होस् कि पुरानो! नेता होस् कि केटा! दल होस् या दलबल– आखिर त्यो ठगै हो! बाँकी कुरा तथ्य–प्रमाणले इजलासमै बोल्लान्, सम्मानीत अदालतले फैसला गर्ला!
तैपनि ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै सडकमा तमासा देखाउनेहरू दलका कार्यकर्ता हुन सक्दैनन्। उनीहरू भीडको आडमा प्रहरी अनुसन्धानलाई विषयान्तर गर्ने, भ्रष्ट र ठगलाई जोगाउन खोज्ने ‘कू’तर्कवादी हुन्। दृश्य ताजै छ– पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्दा कांग्रेस–एमाले सडकमा आएनन्। पूर्वसभामुख कृष्णबहादुर महरा समातिँदा माओवादीले जुलुस निकालेन।
तर, पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा संसदीय छानविन विशेष समितिको सिफारिस र अदालतको अनुमतिमा पक्राउ गर्दा घण्टी समर्थकहरू किन उफ्रिँदैछन् पोखरादेखि काठमाडौँसम्म? आजको मुख्य प्रश्न यहीँनेर छ।
गत कार्तिक १ गते ‘घण्टीघर’बाट पक्राउ परे– रास्वपा सभापति रवि। त्यही दिउँसो विपक्षी दलको एउटा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘तपाईंलाई केपी ओलीले समात्दैछन्।’ नभन्दै साँझपख समातिए उनी। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कास्की जिल्ला अदालतले पक्रिन अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नियन्त्रणमा लिई लामिछानेलाई रातारात पोखरा पुर्यायो।
रास्वपाको दाबी छ– ‘सरकार ढाल्दा नै मलाई जेल कोच्ने सम्झौता गरियो। राज्यले पूर्वाग्रह राख्यो।’ तर तथ्यले त्यसो भन्दैन, गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले सारेको एमाले नेता सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ। उक्त मिडियाको प्रबन्ध निर्देशक रहेका रविले नै चेक काटेर करोडौँ रकम मनलाग्दी परिचालन गरेको समितिले ठहर गरेको छ।
रविले निकटस्थहरूलाई आफूखुसी चेक काटेर रकम बाँडेको जनआस्थाको सम्पर्कमा आएका उक्त मिडियाका अध्यक्ष तथा सहकारी ठगी प्रकरणका फरार आरोपित जिबी राईका पूर्वसहयोगीले खुलाए। मलेसियामा लुकेर बसेका जिबीले इमेलमार्फत् आफू सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजन र सहकारी संस्था डुब्नुको कारण समेत खोलिरहेका छन्। त्यहाँपनि मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि नै मुछिएका छन्। त्यस्तै, पूर्वडीआईजी तथा गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीले कास्की प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन्। उनी असोज ६ देखि हिरासतमै छन्।
‘भीडले धकेल्दै भीरसम्म’ पुर्याइएका पूर्वसञ्चारकर्मी रविलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ। अपराधबाट सम्पत्ति आर्जन गरेको विषय स्वतः सम्पत्ति शुद्धीकरणमा जोडिन्छ नै। तैपनि उनी र उनकाे समूह चोक–गल्लीमा जम्मा भएको ‘भीडतन्त्र’लाई अन्टसन्ट बोलेर प्रभावित पार्न खोज्दैछन्।
अहिले उनको पछाडि जुन जमात कुदिरहेको छ, त्यो न्यायिक प्रक्रिया बिथोल्न खोज्ने ‘अराजक र कानुन मान्दिनँ भन्ने’ झुण्ड हो। माइतीघरदेखि पोखरासम्मको बाटो–दोबाटोतिर तोसिमा, मनिष, सन्तोष, सुमना, क्रान्तिशीखा, सोविता र हरि मात्र होइन, सामाजिक सञ्जालमा पनि एकथरी ‘न्यायाधीश’ टंक, ज्वाला, दीपक, विपिन, प्रतिभा, भोजराज र विकासहरू उम्रिरहेका छन्।
यिनीहरू अनुसन्धानात्मक प्रणाली भत्काउँदै छन्। यीमध्ये कोही भावी सांसदका रुपमा देखिँदै छन्। कति समानुपातिक सांसदकाे गुण तिर्दैछन्। कतिपय फेसबुकमा लाइक, कमेन्ट बटुल्न र युट्युबमा डलर झार्नको लागि ‘रवि दाइ, रवि दाइ’ भन्दै अन्धाधुन्ध दौडिरहेका छन्।
त्यसो त बाटोछेउको हुलले रविलाई निर्दोष सावित गरिसक्यो! उता जिल्ला सरकारी वकीलको कार्यालय कास्कीमा बयान चलिरहेको छ। सडकको बलमा सभापतिलाई छुटाउन कस्सिएका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले अन्ततः मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ हारगुहार गरे।
दिनभर सडक प्रदर्शन गरेर साँझ परेपछि बालुवाटार छिरेका उनीहरूले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नपाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रयास गरे। तर, देउवाले भेट्न नमानेपछि परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी डा. आरजु राणालाई सन्देश पठाएको बुढानिलकण्ठनिकट स्रोतले जनाएकाे छ।
रविले कानुन मान्छन् कि मान्दैनन्? यो गम्भीर प्रश्न हो। उनका भक्तहरूले प्रहरी, प्रशासन र सम्मानीत अदालतको सम्मान गर्छन् कि गर्दैनन्? योचाहिँ रास्वपाकर्मीको रवाफ् हेर्दा शंका छ। अहिले भइरहेको अनुसन्धानलाई राजनीतिक प्रतिशोधको ‘कू’दृष्टिले नियाल्दा तथ्य–प्रमाणसमेतलाई अवमूल्यन गरेको ठहरिन्छ। पोखराको अनुसन्धान सकिएपछि उनी बुटवल, चितवन, वीरगञ्ज हुँदै काठमाण्डूसम्म फन्को मार्ने पक्का छ।
पूर्वगृहमन्त्री रविको पक्राउलाई राजनैतिक चस्माले हेरिनु हुँदैन। किनकि उनका सबैभन्दा ‘प्रियपात्र’, जसका कारण दुई–दुई पटक उपप्रधान र गृहमन्त्रीको टीको लगाए, उनै व्यक्ति अहिले राज्यसत्ताको उपल्लो तहमा छन्। रास्वपा र रवि आफ्नो गोदमा हुँदा यिनै ओली ‘बा’ होइनन् रविलाई ‘क्लिन चिट’को चिर्कोटो बाँड्दै हिँड्ने! अनि कसरी यिनै व्यक्तिले प्रतिशोध साँध्छन्? बरु, यो भन्न सकिन्छ– रविले २१ जना सांसदकाे ‘टेको’ लगाउँदै सबैतिरबाट उम्किरहेका थिए।
सहकारी ठगीको लहरो ‘जिबी, छवि र रवि’मै सीमित देखिँदैन। यो तन्किँदै रास्वपाको पदाधिकारी, रविको ससुराली र श्रीमतीसम्मै पुग्दैछ। सहकारी ठगीको रहस्य त्योबेला झन् खुल्नेछ, जतिबेला ‘रविले भगाइरहेका’ जिबी घर फिर्नेछन्।
‘फोहोर राजनीतिलाई सफा गर्छू’ भन्दै सिंहदरबार छिरेका रवि कहिल्यै सफा थिएनन्। उनी जहिल्यै विवादको घेरामा रहे। पहिलो पटक हिरासत पुगेका होइनन् उनी। २०७६ साउन ३० मा न्युज२४ टेलिभिजनको कार्यक्रम प्रस्तोता हुँदा उनी पहिलोचोटी पक्राउ परे। उनीसितै पत्रकार युवराज कँडेल पनि समातिएका थिए। प्रहरीले उनीहरूलाई काठमाडौँस्थित कार्यालयबाट पक्राउ गरेर चितवन लगेको थियो। कारणचाहिँ पूर्वसहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरण। जहाँ रविको नाम पनि जोडिएकै थियो।
रवि समातिएपछि चिवतनमा भीडले भाँडभैलो मच्चायो। अन्ततः अदालतको फैसलाले पनि निर्दोष भनिदियो उनलाई। आत्महत्या दुरुसाहनको मुद्दामा पनि भीडतन्त्रको साथ पाउँदा झन् उम्लिए रवि। काठमाडौँ फर्केपछि झन् मैमत्त भए। टेलिभिजनको पर्दाभित्रै वकिल बने। न्यायाधीश बने। आफैँ फैसला गर्न थाले। तैपनि भीडले साथ दिइरह्यो।
चितवनको भीडको जगमै उभिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरे। २०७९ मंसिर ४ मा चितवन–२ बाट निर्वाचनमा भाग लिए र भारी मतले जिते। सिंहदरबार छिरेको हप्तादिनमै हालका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइदिए। त्यहाँ पनि विवादमा फस्दै थिए, लोकरिझ्याइँमा रमाउँदै थिए उनी।
तर, २०७९ माघ १३ गते सत्ताको भर्याङबाट ढले। सर्वोच्च अदालतले सांसद पद खारेज गर्यो। सर्वोच्चको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्याग गरेको विधिवत जानकारी सीडीओलाई नदिएको, नागरिकता ऐन र नियमावलीअनुसार निवेदन दिई प्रक्रिया पनि पूरा नगरेको तथ्यमा टेकेर पद खोसियाे। अर्थात्, दल खोल्दा, निर्वाचन लड्दा उनी नेपाली नागरिक नै थिएनन्। यहीँ हो रास्वपा र रविको ‘जान्नेलाई छान्ने’ काइदा।
२०७९ माघ १५ गते रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता। योचाहिँ सबैभन्दा मजाकको दृश्य थियो। जहाँका गृहमन्त्री विदेशी नागरिकको हैसियतमा मन्त्रालय छिरेका थिए, त्यो मतदातामाथि गम्भीर जाँलझेल थियो। तैपनि उनी जनताको नेता भइरहे, अचम्म यहीँनेर छ। २०८० वैशाख १० को उपनिर्वाचनमा चितवनले फेरि उनैलाई जितायो। तिनै मतदाताले दिएको मतको आडमा फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री बने रवि।
तत्कालीन प्रधानमन्त्री ‘प्रचण्डको सत्ता जोगाइदिने कसम खाए’वापत राहदानी दुरुपयोग कसुरमा क्लिनचिट पाए। महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपनि यो प्रकरण सम्पूर्णरूपले थान्किएको छैन। सत्ता–राजनीतिको खेलमा मुद्दालाई सरकारी निकायहरूले ‘किनारा’ लगाएपनि उनकाे अर्काे संकट टरेकाे छैन।
हेक्का होस्, सहकारी ठगीको जालो च्यात्तिएझैँ च्यात्तिन्छ एकदिन। उनलाई लाग्थ्यो– ‘भीड र पद भनेको अथाह शक्ति हो, कानुनी जवाफदेहिता चाहिँदैन। जुनसुकै अपराध पनि चुट्कीको भरमा उन्मुक्ति पाउँछु। मेरा लागि बेग्लै संविधान छ– कानुनभन्दा माथि छु म!’