अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि

अमेरिकामा ‘चुनावी-तिहार’को झिलिमिलि

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ।

राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव शुभारम्भ गरेका छन्।

ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।

यस वर्ष ह्वाइट हाउसमा मनाइएको दीपावलीमा करिव ६सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी थिए। अधिकांश पाहुनाहरू भारतीय मूलका भए पनि केही नेपाली मूलका पनि थिए।

अर्को हप्ताको मंगलबार राष्ट्रपति चुनाव भैरहेको पूर्वसन्ध्यामा आएको यसपटकको दीपावली बिगतमा भन्दा राजनीतिक रूपमा पनि विशेष रहेको छ। चुनावमा सहभागी करोडौ हिन्दू मतदाताको मत जित्न पनि ह्याइट हाउसले ठूलो महत्वका साथ यो पर्व मनाएको हो।

उज्यालोको चाड तिहारमा अमेरिका अध्यारोबाट उज्यालोतिर जावोस् भनेर सदिच्छाका साथ यसपटक दीपावलीलाई अरू महत्व दिएको ह्वाइट हाउसले बताएको छ। अमेरिकामा यसपटक डोनल्ड ट्रम्प अमेरिकालाई अध्यारोतिर धकेल्ने र कमला ह्यारिस उज्यालोतिर लैजाने उम्मेद्वारका रूपमा प्रस्तुत छन्। गर्भपतन, आप्रवासनलगायत ट्रम्पका धेरैजसो एजेण्डाहरू पश्चगामी रहेकाले उनलाई अध्यारोका उम्मेद्वार भनिएको हो।

दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेद्वार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म विशेषभन्दा पनि दक्षिण एसियाली चाडका रूपमा ब्राण्डिङ भैरहेको छ।