एनआरएनएको साधारणसभा रोक्न माग गर्दै आरके समूहले गरायो सर्वोच्चमा रिट दर्ता

एनआरएनएको साधारणसभा रोक्न माग गर्दै आरके समूहले गरायो सर्वोच्चमा रिट दर्ता File Photo

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी समूहले आयोजना गरेको साधारणसभा रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।

एघारौं महाधिवेशनमा चुनावी नतिजा अस्वीकार गरेर छुट्टै कार्यसमिति बनाएका कतारका राजेन्द्र कुमार शर्मासहितले बिहीबार सर्वोच्चमा नयाँ रिट दर्ता गराएका हुन् ।

शर्माले एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग गर्दै रिट दर्ता गराएका हुन्।

केसी समूहले सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधारणसभा एकैपटक आयोजना गरेको छ। जहाँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ।

गत कात्तिक १ गते परराष्ट्र मन्त्रालयले सर्वोच्चअदालतको आदेश कार्यान्वयन गर्न भन्दै पत्रचार गरेको थियो।

एघारौं महाधिवेशनको निर्वाचन प्रणालीमा धाँधली भएको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्दै आइरहेका शर्मालगायतको समूहले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्नेमा केसी समूहले जबरजस्ती साधारणसभा गर्न लागेको भन्दै रिट दायर गरेको हो।

रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ।

रिटमा गत २१ चैतमा न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीकाे इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ।

अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ।

शर्माले आफूले केहीदिन अघि रिट दर्ताकालागि आफ्ना कानुन व्यवसायीलाई अख्तियारी दिएको बताए।

‘केहीदिन अघि अख्तियारी दिएको थिएँ। दर्ता भइसक्यो वा भएन मलाई अहिलेसम्म थाहा छैन। भोलि १० बजेपछि साथिहरुसँग सोधपुछ गर्नुपर्ला,’ उनले भने।