सोमबारसम्मै दर्किनसक्छ झरी, देशभरि सयजना भन्दा बढीको मृत्यु

सोमबारसम्मै दर्किनसक्छ झरी, देशभरि सयजना भन्दा बढीको मृत्यु

काठमाडौं। लगातारको झरिपछि देशभरि बाढी र पहिरोका कारण कम्तीमा १०० जनाभन्दा धेरैको मृत्यु भएको र अर्बौंको क्षति भएको छ। यद्यपि कतिपय मानिस बेपत्ता भएको र भौतिक तथा अन्य विवरणहरू पनि संकलन भइरहेकोले क्षतिको आंकडा बढ्नसक्ने गृहमन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।

देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा वर्षाको अभिलेख राख्न थालेदेखि यताकै सबैभन्दा धेरै वर्षा भएको छ। उसका अनुसार शुक्रबारदेखि शनिबारसम्म(लगभग २४ घण्टामा) करिब ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागले वर्षाको रेकर्ड राख्न थालेको सन् १९७० देखि यताकै यो सबैभन्दा धेरै अनि घनघोर वर्षा हो। वर्षका कारण काठमाडौं उपत्यकाभित्रका खोलानदीहरूमा आएको बाढीले धेरै ठाउँ डुबानमा परेको छ।

सरकारले देशभरि ब्यापक सुरक्षाकर्मी परिचालन गरी राहत र उद्धारनमा कमी हुन नदिएको बताएको छ। तर देशको संघीय राजधानीमै उद्धार संयन्त्रको ढिलासुस्तीका कारण कतिपयले ज्यान गुमाएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। गृहमन्त्रालयका अनुसार शनिबार साँझसम्म ३ हजारभन्दा धेरै मानिसको उद्धार गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ।

ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ।

नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको  ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए। उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने महाशाखाले जनाएको छ।