एनआरएनए मलेसियालाई श्रमिकमैत्री बनाउने नयाँ अध्यक्षको प्रतिबद्धता
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा नेतृत्व फेरिएको छ।
एक वर्ष नेतृत्व गरेका विनोद थापाले राजीनामा दिएसँगै प्रथम उपाध्यक्ष राकेश महतो (आरके) ले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
एक वर्षअघि अध्यक्ष पदमै उम्मेदवारी दिएका महतोले अन्तिम समयमा थापालाई समर्थन गर्दै प्रथम उपाध्यक्ष पदको जिम्मेवारी लिएका थिए।
त्योबेला थापा र महतोबीच एक/एक वर्ष आलोपालोमा एनआरएनए मलेसियालाई चलाउने सहमति भएको थियो। सोही सहमतिबमोजिम थापाले राजीनामा दिएर महतोलाई बाटो खोलिएका हुन्।
कार्यभार सम्हाल्दै महतोले एनआरएनए मलेसियालाई श्रमिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
पदवहाली गरे लगत्तै महतोले एनआरएनए गतिविधिलाई नयाँ गतिमा लैजाने बताएका छन्।
एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले तत्कालिन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र बुझाएपछि महतोलाई अध्यक्ष पदमा बहाली गराएका थिए।
महतोले आफू पूर्वसहमति अनुसार बहुमतबाट अध्यक्ष बनेको र असन्तुष्ट सबै साथीहरुसँग छलफल गरेर सहमतिमै काम गर्ने बताएका छन् ।
‘अव जम्मा १० महिना कार्यकाल बाँकी छ। धेरै काम गरेर एनआरएनए मलेसियालाई नयाँ गतिमा दौडाउनुछ। हामी अव सबै एक भएर काम गर्नुपर्छ,’ उनले भने।
महतोले एनआरएनए मलेसियाको कार्यालयलाई व्यवस्थित र मजबुद बनाउने जनाएका छन्।
उनले यसअघि नै प्रतिवद्धता जनाए अनुसार मासिक २ हजार रिंगेट एनआरएनए कार्यालयमा व्यक्तिगतरुपमा जम्मा गर्ने र एक जना कर्मचारी नियुुक्ती गरेर मासिक १५ सय रिंगेट प्रदान गर्ने जनाएका छन्।
‘टिकट नपाएर जेल बसेका नेपालीहरुलाई टिकट काटेर हामी घर पठाउँछौ। श्रमिकको हकहितमा काम गर्ने छौ । कम्पनीहरुमा आउने इष्युहरुलाई दूतावाससम्म पुर्याउनेछौ, श्रमिक मैत्री भएर काम गर्छौं।’
उनले नेपाली दूतावास र संघ–सँस्थासँग निरन्तर सहकार्य गरेर मलेसियामा रहेका नेपाली कामदारको हक हितको लागि काम गर्ने र एनआरएनए मलेसियालाई श्रमिक मैत्री बनाउने जनाएका छन्।
‘टिकट नपाएर जेल बसेका नेपालीहरुलाई टिकट काटेर हामी घर पठाउँछौ । श्रमिकको हकहितमा काम गर्ने छौ । कम्पनीहरुमा आउने इष्युहरुलाई दूतावाससम्म पुर्याउनेछौ, श्रमिक मैत्री भएर काम गर्छौं,’ महतोले भने।
‘एनआरएनए मलेसिया फुटवल कप’ आयोजना गरेर विभिन्न देशमा रहेका एनआरएनहरुलाई मलेसियामा बोलाएर खेल खेलाउने योजना रहेको अध्यक्ष महतोको भनाइ छ।
एनआरएनए मलेसियाको कोषलाई अझ बलियो बनाउनका लागि विभिन्न कार्यक्रम गर्ने योजना उनको छ।
२४ वर्षअघि रोजगारीको लागि मलेसिया हानिएका महतो अहिले व्यवसायमा संग्लन छन्।
मलेसियामा किराना पसल, रेष्टुरेन्ट, होस्टेल म्यानेजमेन्ट, मिनिमार्ट लगायत संचालन गर्दै आएका महतोको नेपालमा पनि आरके ब्रदर्श प्राइभेट लिमिटेड कम्पनी, आरके सप्लायर्स लगायत व्यवसाय छ।