नोबेल विजेताको हातमा बंगलादेशको सत्ता
काठमाडौं। देश छोडेर प्रधानमन्त्री शेख हसिना भागेपछि बंगलादेशको नेतृत्व अब एकजना नोबेल पुरस्कार विजेताले गर्दैछन्।
आन्दोलनकारी विद्यार्थीले उनलाई नै बंगलादेशको नेतृत्वमा ल्याउने अडान नछोडेपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले मंगलबार संसद भंग गरेर ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिएका हुन्। उनी हाल फ्रान्समा उपचाररत छन्।
को हुन् युनुस?
गरिबीको रापलाई नजिकैबाट नियालेका मोहम्मद युनुस अन्तत: गरिबहरूकै ‘मसिहा’ बनेर निस्किए। आफू सम्पन्न परिवारको भए पनि आफ्ना वरपरका नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउन उनले अनेक संघर्ष गरे। त्यसमा सफलता पनि पाए र अर्थशास्त्रीका रुपमा मात्रै आफ्नो परिचय बनाएनन्, बरु विश्वकै सम्मानित नोबेल पुरस्कारबाट सम्मानित पनि भए।
‘गरिबहरूमा सबैभन्दा गरिबका लागि बैंकर’ का रूपमा चिनिने ८४ वर्षीय युनुसले ग्रामीण महिलाहरूलाई सानो नगद रकम ऋण दिएर उनीहरूलाई कृषि उपकरण वा व्यापार उपकरणमा लगानी गर्न प्रोत्साहन गरेका थिए। महिलाको आम्दानी बढाउन उनले खेलेको भूमिकालाई सम्मान गर्दै उनलाई २००६ मा नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो।
उनले स्थापना गरेका लघुवित्त ऋणदाता ग्रामीण बैंकलाई बङ्गलादेशमा व्यापक आर्थिक विकासका कोशेढुङ्गा मानिन्छ। यो कामलाई पछि अरु अल्पविकसित राष्ट्रहरूले पनि पछ्याउन थाले।
नोबेल पुरस्कार लिने बेलामा उनले भनेका थिए, ‘मानिसहरू भोक र गरिबीको पीडा भोग्न जन्मिएका होइनन्।’
सामाजिक अभियानबाट केही समय राजनीतिमा पनि लागेका उनले पछि बंगलादेशकी नेतृ शेख हसिनासँग शत्रुता कमाउनुपर्यो। हसिनाले उनलाई एकपटक ‘गरिबको रगत चुस्ने नेता’ भनेर टिप्पणी गरेकी थिइन्।
तर सोमबार हतारमा राजीनामा दिएर बङ्गलादेश छाड्नुअघि हसिनाको १५ वर्षको कार्यकाल असहमतिको बढ्दो असहिष्णुता थियो र युनुसको लोकप्रियताले उनलाई सम्भावित प्रतिद्वन्द्वीका रूपमा देखायो।
सन् २००७ मा युनुसले बङ्गलादेशको टकरावपूर्ण राजनीतिक संस्कृतिलाई अन्त्य गर्न आफ्नै ‘नागरिक शक्ति’ पार्टी स्थापना गर्ने योजना घोषणा गरेका थिए। तर अस्थिरता र सैन्य शासनको अवधिका कारण बीचैमा रोकियो।
सन् २००७ मा सेना समर्थित कामचलाउ सरकारको स्पष्ट समर्थनमा प्रोफेसर युनुसले राजनीतिक दल बनाउने प्रयास गर्दा शेख हसिना रिसाएकी थिइन्। शक्ति सङ्घर्ष र राजनीतिक द्वन्द्वका कारण विचलित भएपछि उनले आफ्नो राजनीतिक यात्रा बीचैमा छाडे।
‘म राजनीतिक व्यक्ति होइन। यो मैले पार लगाउने काम होइन’, उनले भनेका थिए, ‘त्यसैले मैले तत्कालै आफूले राजनीतिक पार्टी नबनाउने घोषणा गरेँ।’
त्यसपछिका वर्षहरूमा उनको सरकारसँगको सम्बन्ध कटुतापूर्ण रह्यो।
प्रधानमन्त्री हसिनाले युनुसमाथि शृङ्खलाबद्ध अनुसन्धानहरू पनि सुरु गरिन्। युनुस र उनका समर्थकहरूले त्यसलाई राजनीतिक प्रतिशोध भन्ने गरेका थिए।
राजनीतिक प्रतिस्पर्धीलाई गरेको व्यवहारका कारण गत वर्ष संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशको सरकारलाई सचेत गराएको थियो।
युनुसमाथि एक सयभन्दा धेरै आपराधिक मुद्दा दर्ता गरिएका थिए र राज्यको नेतृत्वमा रहेको इस्लामिक एजेन्सीले उनले समलैङ्गिकतालाई बढावा दिएको आरोप लगाउँदै बद्नामीको अभियान चलाएको थियो।
सरकारले सन् २०११ मा उनलाई अनौपचारिक रूपमा ग्रामीण बैंकबाट निष्कासित गर्यो। त्यो फैसलाविरुद्ध युनुसले लामो कानुनी लडाइँ पनि लडे। तर बङ्गलादेशको सर्वोच्च अदालतले फैसलालाई सदर गरिरह्यो।
हसिनाले चौथो कार्यकालका लागि चुनाव जित्दै गर्दा गत जनवरीमा युनुस र उनका केही सहयोगीहरूलाई छ महिनाको जेल सजाय सुनाइएको थियो तर ढाका श्रम अदालतले तुरुन्त जमानत दियो।
उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूले राजनीतिक प्रेरितका रूपमा आलोचना गरेका थिए।
उनकाे जन्म सन् १९४० मा पूर्वी पाकिस्तानको तटीय सहर चटगाउँको एक सम्पन्न परिवारमा भएको थियो। उनका बुबा सुनका व्यापारी थिए।
उनकी आमाले युनुसलाई सधैँ भन्थिन्, ‘केही सहयोग माग्न दैलामा आएकाहरूलाई कहिल्यै निरास नबनाउनु…’, आमाको यही प्रेरणाले उनले आफ्नो आँगन वरिपरिका गरिबहरूको जीवनस्तर उकास्न सफल बनायो।
युनुसले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न फुलब्राइट छात्रवृत्ति प्राप्त गरेका थिए। सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बङ्गलादेशले स्वतन्त्र राष्ट्रको मान्यता पायो अनि युनुस आफ्नो जन्मभूमि फर्किएका थिए।
स्वदेश फर्किएपछि उनलाई सरकारले चटगाउँ विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुखमा नियुक्त गरेको थियो। तर भर्खरै बनेको नयाँ मुलुकले भीषण अनिकालको सामना गरिरहेको थियो।
‘गरिबी मेरो चारैतिर थियो र म यसबाट टाढा जान सकिनँ’, नोबेल पुरस्कार थाप्दै गर्दा उनले भनेका थिए, ‘मलाई विश्वविद्यालयको कक्षामा अर्थशास्त्रको सुरुचिपूर्ण सिद्धान्त पढाउन कठिन भयो, म आफू वरपरका मानिसहरूको सहयोगका लागि तत्काल केही गर्न चाहन्थेँ।’
परम्परागत बैंक ऋणका लागि योग्य हुन नसक्ने गरिब मानिसहरूलाई ऋण प्रदान गर्ने तरिकामा वर्षौंसम्म प्रयोग गरेपछि उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए।
बैंकको सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदन (२०२०) अनुसार संस्थासँग अहिले ९० लाखभन्दा बढी ग्राहक छन् र यसका ९७ प्रतिशतभन्दा बढी त्यही गरिबीको रेखाबाट माथि उठेका महिलाहरू छन्।