मानव तस्करी : समिर लामालाई जापान प्रहरीमा बुझाउन किन तयार छैन एनआरएनए ?

मानव तस्करी : समिर लामालाई जापान प्रहरीमा बुझाउन किन तयार छैन एनआरएनए ?

काठमाडौं। ५० जनाभन्दा बढी नेपालीलाई भिजिट भिसामा जापान लगेर ‘शरणार्थी’ बनाउन लागिएको घटना बाहिरिएपछि यतिबेला जापानको नेपाली समाजमा हलचल मच्चिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लेटरहेड र त्यसमा आवद्ध उच्च पदाधिकारीका कागजात प्रयोग गरेर उनीहरूलाई जापान छिराइएको थियो।

६ जुलाइमा राजधानी टोकियोमा एनआरएनए जापान र जिल्ला सहकारी लिमिटेड काठमाडौंको संयुक्त आयोजनामा सेमिनार गर्ने भनेर उनीहरूलाई भिजिट भिसामा त्यहाँ पुर्‍र्‍याइएको थियो।

सेमिनारका बाहनामा जापानका छिरेका उनीहरूले त्यहाँ पुगेपछि ‘शरणार्थी’को आवेदन दिएपछि यो विषय बाहिर आएको थियो।

एनआरएनए जापानका अध्यक्ष नवीन निउरे र उपाध्यक्ष सुवास लामिछानेले स्पोन्सरसहित निम्तो पठाएपछि काठमाडौंस्थित जापानी दूतावासले भिसा जारी गरेको थियो।

तर, एनआरएनए जापानले भने लेटरहेड र पदाधिकारीको हस्ताक्षर र अन्य कागजात दुरुपयोग गरेर भिसा मागिएको भन्दै घटना बाहिरिएदेखि नै खण्डन गर्दै आएको छ।

एनआरएनए जापानले फर्जी कागजात प्रयोग गरेर भिसा मागिएको भन्दै प्रेस विज्ञप्ती जारी गरेर यसअघि नै खण्डन गरेको थियो।

बिहीवार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरेर एनआरएनए जापानले यो प्रकरणमा समिर लामा तामाङको संग्लनता रहेको भन्दै उनलाई सार्वजानिक गरेको छ।

अध्यक्ष निउरे र उपाध्यक्ष लामिछानेले मानव तस्करी प्रकरणमा आफूहरूको कुनै पनि भूमिका नरहेको स्पष्टीकरण दिए।

जापानमा क्रियासिल नेपाली पत्रकारहरूसँग लामाले आफूले किर्ते कागजात तयार पारेर नेपालीलाई जापान पुर्‍याएको स्वीकार मात्र गरेनन् कसरी कुन भिसामा ल्याएको भन्ने बारेमा पनि ढुक्कसँग बताए।

पत्रकारले कैयौं पटक यस प्रकरणमा जोडिएका अन्य पात्रहरूबारे बताउन आग्रह गर्दा लामाले यतिमात्र भने,‘सबै गरेको म एक्लैले हो। अरु कसैको गल्ती छैन।’

समिर लामा

लामामाथि प्रतिव्यक्ति १७ लाख रुपैयाँ लिएर नेपालीलाई जापान पुर्‍याएको आरोप छ।

लामाले पत्रकार सम्मेलनमा ‘प्रोफाइल’ बनाउन चाहेका नेपालीलाई जापान ल्याएर सहयोग गरेको बताउँदै यसलाई मानव तस्करीसँज जोड्न नमिल्ने दाबी समेत गरेका थिए।

यो प्रकरणको जिम्मेवारी लामा एक्लैले लिएपनि जापानका नेपाली त्यो मान्न तयार छैनन्। जापानका नेपालीको आशंका छ– यसका पछाडि ठूलो गिरोहको संग्लनता छ। समिर लामालाई स्वीकार्न लगाएर अरु जोगिन खोजिरहेका छन्।’

जापानको अध्यागमन र जापान प्रहरीमार्फत यसको छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

‘जापानको अध्यागमन कानुन उल्लंघन भएको छ। यहीँ दर्ता भएको संस्थाको लेटरहेड किर्ते गरेको भन्ने छ। त्यसैले लामालाई जापानमै कारवाही गर्नुपर्छ। नेपाल प्रहरीको जिम्मा लगाउनु भनेको यसपछाडीका मान्छेहरूलाई जोगाउन खोजिएको हो,’ एक पत्रकारले प्रवास खबरसँग भने।

अध्यक्ष निउरेले लामालाई कारवाहीको लागि टोकियोस्थित नेपाली दूतावासमार्फत पहल गरेको बताएका छन्। तर, जापानका नेपाली लामामाथि उतै छानबिन र कारवाही हुनुपर्ने पक्षमा छन्।

जापान समाचारमा कार्यरत अर्का एक नेपाली पत्रकारले लेखेका छन्, ‘अपराध कर्म गर्नेको अनुहारमा न गल्ती गरेको भाव न शब्दमा क्षमा विनय ! बस ‘मैले, अन्जानमा मैले, सिर्फ मैले सबैतिर अनेक रूप धारण गरेर फर्जी गरेको हुँ। भनेपछि पत्याउन पर्ने अनि ल अब नगर्नु है भनेर पिलेन चढाएर बिदा गर्नुपर्ने अवस्था आयो !।’

यीनै पत्रको आधारमा काठमाडौंस्थित जापानी दूतावासले ५० जना नेपालीलाई भिजिट भिसा जारी गरेको थियो।