जापान मानव तस्करी : एनआरएनएको दाबी– संस्था र पदाधिकारीको नाम दुरुपयोग भयाे

जापान मानव तस्करी : एनआरएनएको दाबी– संस्था र पदाधिकारीको नाम दुरुपयोग भयाे

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले मानव तस्करी प्रकरणमा संघ र त्यसमा आवद्ध पदाधिकारीको संग्लनता नभएको दाबी गरेको छ।

मानव तस्करीमा संघ र पदाधिकारीको नाम जोडिएपछि एनआरएनए जापानका प्रवक्ता खगराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै संस्थाको नाम, पद र आवश्यक कागजातको चरम दुरुपयोग भएको बताएका छन्।

६ जुलाइमा राजधानी टोकियोमा एआरएनए र जिल्ला सहकारी लिमिटेड काठमाडौंको संयुक्त आयोजनामा सेमिनार गर्ने भनेर दर्जनौं नेपालीलाई जापान पुर्‍याइएको थियो। त्यहाँ उनीहरूलाई ‘शरणार्थी’आवेदन दिन लगाइएको थियो।

यसप्रकरणमा अध्यक्ष नवीन निउरे र उपाध्यक्ष सुवास लामिछानेको नाम जोडिएको थियो।

प्रवक्ता अधिकारीले संघ र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात बनाइ पर्यटन भिसामा ५० नेपालीलाई जापान पुर्‍याइएको जानकारी दिएका छन्।

‘एनआरएनए जापानका पदाधिकारी एनआरएनएका अभियन्ता सहितको नाममा एनआरएनए जापानको नामबाट नक्कली स्पोन्सर लेटर तयार पारी पर्यटक भिसामा ५० जना भन्दा बढि नेपाली नागरिकलाई जापान भित्र्याइएको बारेमा जानकारी प्राप्त हुनासाथ यसबारेमा आवश्यक अनुसन्धान गरि कारबाही गर्नका लागि जापान सरकारका निकाय र नेपाल सरकारका सम्बन्धित निकायहरुमा जानकारी गराइएको छ,’ प्रवक्ता अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संस्थाको नाम पद र आवश्यक कागजातको चरम दुरुपयोग गरि नेपाली नागरिकलाई जापान भित्र्याइएको यस घटनाले हामीलाई दुखित बनाउनुका साथै गम्भिर समेत बनाएको छ।’

नेपालीलाई जापान लैजान ओसाकामा बस्दै आएका समिर लामाको मुख्य भूमिका रहेकाले अध्यक्ष निउरेलाई त्यसतर्फ पठाइएको बताइएको छ।

‘यस कार्यमा जापानको ओसाकामा रहेका समिर लामा नाम गरेका व्यक्तिको मुख्य भूमिका रहेको भन्ने उक्त फर्जी कागजातमार्फत जापान आएका व्यक्तिबाट जानकारी प्राप्त भएसँगै यसको बारेमा आवश्यक जानकारी लिनका लागि एनआरएनए जापानले अध्यक्ष नविन निउरेलाई त्यसतर्फ पठाइएको समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख छ।

यस प्रकरणमा संस्था र पदाधिकारीको कुनैपनि संग्लनता नरहेको दावी गर्दै प्रवक्ता अधिकारीले नक्कली कागजपत्र खडा गरेर मानव तस्करी जस्तो जघन्य अपराध गर्ने समूहलाई कारवाहीको माग पनि गरेका छन्।

अनुसन्धानका क्रममा संस्थाका प्रतिनिधिको भूमिका देखिए कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने बताइएको छ।

‘संस्थाको नाम र संस्थामा आबद्ध रहेका पदाधिकारीहरुको नामको दुरुपयोग गरि फर्जी कागजात बनाई यस खालको जघन्य अपराध गरेको हुनाले यस संस्था र संस्थासँग सम्बन्धित कोहि व्यक्ति पनि कुनै प्रकारको कार्यमा संलग्न नरहेको स्पष्ट पार्दै त्यसखालको भ्रममा नपर्नका लागि सम्पूर्णमा अनुरोध समेत गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘अनुसन्धानका क्रममा संस्थाका कोहि यस कार्यमा रहेको पुष्टि भएमा संस्थाले त्यस्ता व्यक्तिलाई संस्थागत रुपमा गरिने कारबाही गर्ने र कानूनी कारवाहीको लागि सम्बन्धित निकायलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।’

एनआरएनए जापानले मानव तस्करी जस्ता गैर कानूनी कार्यको कडा विरोध गर्दै आइरहेको पनि बताइएको छ।

एनआरएनए जापानको स्पोन्सरमा मानव तस्करी !