एनआरएनए जापानको स्पोन्सरमा मानव तस्करी !

एनआरएनए जापानको स्पोन्सरमा मानव तस्करी !

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लेटरहेड मानव तस्करीका लागि प्रयोग भएको छ।

६ जुलाइमा राजधानी टोकियोमा एआरएनए र जिल्ला सहकारी लिमिटेड काठमाडौंको संयुक्त आयोजनामा सेमिनार गर्ने भनेर तीन दर्जन नेपालीलाई जापान पुर्‍याइएको खुलेको छ।

स्रोतका अनुसार उनीहरूलाई भिजिट भिसामा जापान पुर्‍याइएको हो।

सेमिनारका बाहनामा जापानका छिरेका उनीहरूले त्यहाँ पुगेपछि ‘शरणार्थी’को आवेदन दिएपछि यो विषय बाहिर आएको हो।

एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले १३ जनालाई स्पोन्सर पठाएर टोकियोमा आयोजित सेमिनारमा निम्तो गरेपछि काठमाडौंस्थित जापानी दूतावासले भिसा जारी गरेको थियो।

यस्तै, सुवास लामिछानेले हस्ताक्षर गरी पठाएको पत्रका आधारमा २३ जनाले भिसा लिइएको बताइएको छ।

तर, एनआरएनए जापानका प्रतिनिधिले भने लेटरहेड दुरुपयोग भएको बताएका छन्।

जापानबाट सञ्चालित नेपाली अनलाइन ‘क्योडाइ न्युज’सँग अध्यक्ष निउरे र उपाध्यक्ष सुवास लामिछानेले लेटरहेड दुरुपयोग भएको बताएका छन्।

फर्जी कागजात प्रयोग गरेर भिसाका लागि आवेदन दिएको उनीहरूको भनाइ छ।

एनआरएनए जापानले यसविषयमा औपचारिक रुपमा केही बताएको छैन। थप बुझ्न प्रवास खबरका प्रतिनिधिले अध्यक्ष निउरे र उपाध्यक्ष लामिछानेसँग फेसबुक म्यासेन्जरमार्फत सम्पर्क गरेपनि कुरा हुन सकेन।

मानव तस्करीको विषय बाहिरिएपछि एनआरएनए जापानका निर्वतमान महासचिव सिर्दाथ श्रेष्ठले प्रश्न गरेका छन्, ‘हामीले आफ्ना परिवारलाई जापान बोलाउन पर्यो भने कति झनझटिलो हुन्छ। पासपोर्ट, जाईरियो कार्ड, वैंक ब्यालेन्स, तोहोन,जुमिन्हयो, खेसान शो, होटल बुकिंग सबै कुरा माग्छ तर झन्डै तिन दर्जन मान्छे अवार्ड कार्यक्रमको नाममा सजिलै कसरी आए जापान?’

३६ जना व्यक्तिलाई जापान पुर्‍याउन ओसाकामा बस्दै आएका समिर लामाले भूमिका खेलेको बताइन्छ। लामाले नक्कली कागजात खडा गरेर मानव तस्करी गरेको बताइएपनि यसमा एनआरएनए जापानका प्रतिनिधिको पनि संग्लनता हुनसक्ने आशंका गर्दै कतिपयले  छानविन गर्नुेपर्ने बताएका छन्।

‘यो विषय गम्भिर छ। यसमा सुक्ष्म ढंगले छानविन गर्नुपर्छ। देशकै प्रतिष्ठा जोडिएको विषय छ,’ टोकियोमा व्यवासाय गर्दै आएका एक नेपाली व्यवसायीले भने, ‘त्यो समिर लामा भन्नेले यति ठूलो ठगी गर्ने हिम्मत कसरी गर्‍यो ? उसलाई ब्याकअप दिने पनि होलान्। पछाडी कोही पात्र पक्कै हुनसक्छन्।’

लामामाथि प्रतिव्यक्ति १७ लाख लिएर ३६ जनालाई जापान पुर्‍याएको आरोप छ।