युरोप पठाइदिने सपना देखाउँदै यूएईमा नेपाली कन्सलटेन्सीकाे ठगी आतंक

युरोप पठाइदिने सपना देखाउँदै यूएईमा नेपाली कन्सलटेन्सीकाे ठगी आतंक

काठमाडौं। युरोपलगायतका मुलुकहरूमा आकर्षक रोजगारीका लागि पठाइदिने भन्दै यूएईमा नेपालीद्धारा सञ्चालित कन्सलटेन्सी तथा म्यानपावर कम्पनीहरूले ठगी आतंक मच्चाएका छन्।

नेपाली युवायुवती ठगिएका घटना बढेपछि आबुधाबीस्थित नेपाली दूतावासले सार्वजानिक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ।

दूतावासले अहिले यूएईका कन्सलटेन्सीहरूले नेपालबाट श्रम स्वीकृति नलिइ भिजिट भिसामा नेपालीहरूलाई यूएई पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको पनि जनाएको छ।

ठूला कम्पनीहरूमा काम लगाइदिने प्रलोभन देखाएर यूएईमा आर्थिक शोषणमा पारेको, श्रम शोषण गरेको दूतावासको भनाइ छ।

नेपाली कन्सलटेन्सीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत युरोपलगायतका अन्य मुलुकहरूमा आकर्षक रोजगारीको प्रचारप्रसार गरेर नेपालीलाई ठग्ने गरेको दूतावासले जनाएको छ।

युरोप अमेरिका पठाइदिने सपना देखाएर नेपालीहरूबाट ठूलो रकम असुल्ने गरेको गुनासो बढेको दूतावासको भनाइ छ।

‘यस्ता कार्यहरूमा ह्युमन रिर्सोज कन्सलटेन्सी, इजाजवाला मेनपावर, मेनपावरका प्रतिनिधि बताउने तथा यूएईस्थित स–साना कम्पनीका सञ्चालक र एजेण्ट समेत संग्लन रहेको बुझिन आएको छ,’ दूतावासले भनेको छ।

दूतावासले यस्ता कम्पनीहरूबाट सचेत रहन अनुरोध गर्दै जोखिममा परेको खण्डमा स्वयम् जिम्मेवार हुने दूतावासले जनाएकाे छ।