भारतले फैलाइरहेको ‘जासुसी जालो’, अष्ट्रेलियाले यसरी ध्वस्त पारेको थियो

भारतले फैलाइरहेको ‘जासुसी जालो’, अष्ट्रेलियाले यसरी ध्वस्त पारेको थियो

काठमाडौं। सन् २०२०मा अष्ट्रेलियाले केही भारतीयलाई पक्राउ गर्‍यो।

पक्राउ परेका ती भारतीय सामान्य नागरिक भने थिएनन्। उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो। अर्थात उनीहरू भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू थिए।

उनीहरूलाई भारतले जासुसी गर्नकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो। त्यत्तिबेला अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गरेको थियो।

अष्ट्रेलियाले उनीहरूमाथि लगाएको आरोप थियो– विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरी गरेको। सूचनाहरू चोरी गर्न खोज्दा उनीहरू समातिएको अष्ट्रेलियाली सुरक्षा अधिकारीको आरोप थियो। तर, यी सबै कुरा त्यो बेला सार्वजानिक गरिएको थिएन।

एबीसी न्यूजकाे समचारअनुसार भारतले फैलाइरहेको ‘जासुसी जालो’लाई त्यहाँको राष्ट्रिय गुप्तचर संस्था अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेशन (एएसआईओ) ले ध्वस्त बनाएको थियो।

त्यसअघि भारतीय जासुसहरू अष्ट्रेलियामा निकै सक्रिय थिए। उनीहरूले आफ्नो सञ्जाल व्यापक रुपमा विस्तार गरिरहेका थिए।

ती भारतीय जासुसहरूले अष्ट्रेलियाका राजनीतिज्ञहरूसँग समेत घनिष्ठ सम्बन्ध बनाउन सफल भएका थिए। उनीहरूले तत्कालीन र पूर्व राजनीतिज्ञहरुसँग बलियो सम्बन्ध बनाएका थिए।

एएसआईओका अधिकारीले उनीहरूमाथि निगरानी बढाइरहेका थिए। गतिविधि शकांशस्पद लागेपछि नजिकबाट निगरानी गरिएको थियो। त्यसपछि उनीहरूलाई पक्राउ गरेर देश निकाला गरिएको थियो।

एएसआईओका महानिर्देशक माइक बर्गेसले सन् २०२१ मा आफ्नो वार्षिक सुरक्षा प्रतिवेदनमा देशमा विदेशी जासुसहरूका गतिविधिबारे संकेत गरेका थिए। तर, उनले त्यतिबेला यसमा कुन देशको संग्लनता थियो भन्ने खुलाएका थिएनन्।

बर्गेसले सन् २०२१ मार्चमा क्यानबेरास्थित एएसआईओको मुख्यालयमा सम्बोधन गर्दै भनेका थिए। ‘जासुसहरूले वर्तमान र पूर्व राजनीतिज्ञहरू, विदेशी दूतावास र राज्य प्रहरी सेवासँग लक्षित गरेर सम्बन्ध विकास गरेका छन्।’

‘उनीहरू (एजेण्ट)ले आफ्नो देशका विदेशमा बस्नेहरूको निगरानी गरेका थिए। अष्ट्रेलियाको व्यापार सम्बन्धका बारेमा पनि अति गोप्य जानकारी प्राप्त गर्ने प्रयास गरेका थिए’, उनले त्यतिबेला भनेका थिए, ‘उनीहरूले सार्वजनिक सेवामा कार्यरत सरकारी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रोटोकलका बारेमा जानकारी दिन आग्रह समेत गरेका थिए।’

विदेशी जासुसहरूले अष्ट्रेलियामा कसरी सफलतापूर्वक सञ्जाल विस्तार गरे, राष्ट्रिय सुरक्षाका संवेदनशील विवरणहरूमा कसरी पहुँच पुर्‍याए भनेर पनि उनले विस्तृतमा जानकारी दिएका थिए। जासुसहरूले अष्ट्रेलियाका अधिकारीहरूलाई कसरी प्रयोग गरिरहेका थिए भन्ने विषयमा उनले बताएका थिए।

राष्ट्रिय सुरक्षा र सरकारी आँकडाहरूले त्यतिबेला जासुसी गर्न भारतको गुप्तचर संस्था ‘रअ’ जिम्मेवार थियो भन्ने पुष्टी गरेको एबीसीले जनाएको छ।

वासिङ्टन पोस्टले प्रकाशित गरेको रिपोर्ट अनुसार एएसआईओ काउन्टर इन्टेलिजेन्स अपरेसनपछि भारतीय गुप्तचर संस्था रअका दुई जनालाई सन् २०२० मा अस्ट्रेलियाबाट ‘डिपोर्ट’ गरिएको थियो।

गत वर्षको सेप्टेम्बरमा क्यानडामा हरदीप सिंह निज्जरको हत्या आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्व सरकारको कारवाहीलाई लिएर पश्चिमी सहयोगीहरू चिन्तित भइरहेकाबेला अष्ट्रेलियामा नयाँ दिल्लीको ‘गोप्य अपरेशन’का विवरणहरू सार्वजानिक गरिएको हो।

गत नोभेम्बरमा अमेरिकाको भ्रमणका क्रममा एबीसीसँगको अन्तरवार्तामा महानिर्देशक बर्गेसले भारतले विदेशी भूमिमा चलाइरहेको जासुसी अप्रेशनले अष्ट्रेलियाको सुरक्षामा हुने खतराकाे विषयमा भने कुनै जवाफ दिएनन्।

‘म कुनै सरकारको टिप्पणी गर्दिनँ। तर विदेशी निकायबाट हस्तक्षेप, षड्यन्त्र वा खतरा देख्यौँ भने यसलाई सामना गर्न हामी सक्षम छौँ।’

उनले अष्ट्रेलियाबाट भारतीयहरू निष्कासनमा परे/नपरेको विषयमा सोधपुक्ष गर्दा पनि जवाफ दिन अस्वीकार गरेका थिए।

‘हामी कुनै पनि अपरेसनका मामिलामा टिप्पणी गर्दैनौँ। तर समय–समयमा अघोषित गुप्तचर अधिकारीहरूलाई पत्ता लगाउँदै आएका छौँ,’ उनले भने, ‘हाम्रो आफ्नै प्रक्रियामार्फत या सरकारसँग सहयोग मागेर उनीहरुलाई निकाला गरिन्छ वा उनीहरू आफै अष्ट्रेलिया छोड्न सक्छन्।’

भारत अमेरिका, जापान र अष्ट्रेलियासँग चतुर्भुज सुरक्षा संरचनाको सदस्य हो। र, इन्डो–प्यासिफिकमा महत्वपूर्ण रक्षा साझेदार पनि।

सन् २०२२ मा आफ्नो अर्को वार्षिक सुरक्षा खतरा मूल्याङ्कन दिँदै बर्गेसले कसरी मित्रवत मानिने राष्ट्रहरूले अष्ट्रेलियाविरुद्ध जासुसी गर्न खोजिरहेका छन् भनेर व्याख्या गरेका थिए।

‘धेरै देशहरूले अष्ट्रेलियाविरुद्ध जासुसी गर्न खोजिरहेका छन्। ती देशहरू मात्र होइन जसलाई हाम्रो परम्परागत विरोधी मान्न सकिन्छ’, उनले भनेका थिए, ‘हामीले मित्र ठानेका देशहरूद्वारा जासुसी सञ्चालन गरिएको छ।’

सरकारी स्रोतले एबीसीलाई दिएको जानकारी अनुसार अष्ट्रेलियामा भारतसहित सिंगापुर, दक्षिण कोरिया, इजरायलका गुप्तचर निकायका एजेन्टहरु पनि जासुसी गर्न सक्रिय छन्।

सन् २०२४ को वार्षिक खतरा मूल्याङ्कनको क्रममा एएसआईओ मुख्यालयभित्र सिंगापुर, दक्षिण कोरिया, इजरायल र भारतका वरिष्ठ कूटनीतिज्ञ र राजदूतहरूलाई अतिथिका रुपमा बोलाइएको थियो। जहाँ, बर्गेसले सम्बोधन गरेका थिए।

एबीसीले भारतीय उच्च आयोग र एएसआईओसँग सम्पर्क गरेको थियो। तर, दुवैले ‘जासुसीे अपरेशन’को बारेमा जवाफ दिन अस्वीकार गरेका छन्।

एबीसी न्यूज



No ads found for this position