चतुरबहादुर र पारसले ‘ब्ल्याक’मा जर्सी बिक्री गरे : नेपाल खेलकुद महासंघ

काठमाडौ। नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ।
अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकपका क्रममा अनियमितता गरेको भन्दै संघले राजीनामा माग गरेको हो।
विश्वकपमा नेपालको माथिल्लो तहमा पुग्ने सम्भावना प्रबल भएकाे तर, क्यानमा मौलाउँदो चरम आर्थिक अपचलन र सन्दीप लामिछानेमाथि भएको राजनीतिका कारण नेपाली क्रिकेटको विश्वभरी आलोचना भइरहेको महासंघका केन्द्रीय सचिव विप्लव घोषले बताए।
उनले यो विषयमा क्यानकै जिम्मेवार पदाधिकारीद्वारा देशको शीर अन्तर्राष्ट्रियस्तरमा निहुर्याउने काम भएको दाबी गरेका छन्।
‘सन् २०१४ मा क्यानमा देखिएको अराजकताको छानवीन गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् चुक्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्नु परेको थियो। अहिले त्यही अवस्थामा नेपाली क्रिकेट उभिएको छ। यस सम्बन्धमा नेपालका शीर्ष राजनीतिक दलका नेताहरूले पनि छानवीन गर्न सरकारसँग आग्रह गरिसकेका छन्’, उनले भनेका छन्।
महासंघले उच्चस्तरीय छानवीन आयोग गठन र दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेका छ।
यस्ताे छ महासंघकाे माग:
१. सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएको सवैमाझ सर्वविदितै छ। सम्मानित उच्च अदालत, पाटनबाट उनले सफाई पाइसकेको अवस्था तथा नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरिसकेको अवस्थामा के कारण उनी नेपालको १५ सदस्यीय टोलीमा अटाउन सकेनन् ? यसको अविलम्ब छानवीन होस् र उनलाई टिममा समावेश नगराउन प्रमुख भूमिका खेल्ने क्यान पदाधिकारीलाई कडाभन्दा कडा कार्यवाही होस्।
२. क्यान अध्यक्ष चतुरबहादुर चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’ मध्ये प्रशिक्षण समय देखि अनिवार्य रुपमा हुनु पर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफु श्रीमती सहित अमेरिका पुगेपछि आइसीसीले टिम डाक्टर अनिवार्य टिममा हुनु पर्ने र अध्यक्ष भएर ‘सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेर उनको नाम सूचीबाट हटाई उक्त स्थानमा डाक्टर समावेश गरेको सर्वविदितै छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ। अन्तर्राष्ट्रियस्तरमा देशको शीर निहुँर्याउने कार्य गर्ने क्यान अध्यक्षले नैतिकताको आधारमा आजनै राजिनामा दिनुपर्ने माग गर्दछौ यदि राजिनमा नदिएको खन्डमा अविलम्ब नेपाल फर्काएर कार्यवाही अगाडि बढाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिसद मार्फत जोड्दार माग गर्दछौं।
३. नेपाली टिम अमेरिकामा विश्वकप खेल्न गएको हो। त्यसैले सबै खेलाडीको अर्जुनदृष्टी खेल र प्रशिक्षणमा हुनुपर्छ। तर, क्यान अध्यक्ष चतुरबहादुर चन्दले चन्दा उठाउने हेतुले राती–राती होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको समाचार विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको छ। यदी यस्तो हो भने, क्यान अध्यक्ष चन्दले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पदीय मर्यादा बिर्सिएर आर्थिक प्रलोभनमा नेपाली खेलाडीको प्रदर्शनलाई प्रभावित गरेको ठहर हाम्रो छ, यसको पनि सत्य–तथ्य छानवीन गरी सम्बन्धित व्यक्तिलाई कडाभन्दा कडा सजाय होस्।
४. नेपाल सरकारले विश्वकप तयारीका लागि ५ करोड विनियोजन गरेको सर्वविदितै छ। आइसीसीले पनि नेपालको तयारीका लागि झन्डै ५ लाख डलर उपलब्ध गराएको छ भन्ने जानकारी हुनआएको छ। यी रकम कहाँ र कसरी खर्च भयो ? यसको छानवीन होस् भन्ने हाम्रो माग छ।
५. नेपाली टिम एक महिनाअघि अमेरिका जाँदा खेलाडीहरूको ‘किट्स’ मा राष्ट्रिय टोलीको जर्सी पठाएर खेलाडीहरूलाई भरिया बनाएको र अमेरिकामा जर्सी बेच्ने कार्यमा क्यानका पदाधिकारी संलग्न भएको आशंका हाम्रो छ। यस सम्बन्धमा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले नै ‘ब्ल्याक’ मा जर्सी बिक्री भएको सोसल मिडियामार्फत सार्वजनिक गरेका छन्। यस कार्यमा क्यानका को–को पदाधिकारी संलग्न छन्, यसको पनि अविलम्ब छानवीन होस्।
६. विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ‘ब्याट’ र ‘टिसर्ट’ ‘अक्सन’ मा राखेर बेचेको, तथा अमेरिकामा बसोबास गरे पनि नेपाली क्रिकेटलाई माया गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला भएको जानकारी नपाएका स्वयम् क्यानका पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको सुनिन आएको छ। यसको पनि अविलम्ब छानवीन गरी दोषीमाथि कडा कार्यवाही होस् भन्ने अनुरोध गर्न चाहन्छौं।
७. अमेरिकामा ‘फेम नेपाल’ नामक कथित संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ‘ह्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङ’ मा ख्वाएबापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानुनी रुपमा उठाएको समाचार विभिन्न सञ्चालबाट सार्वजनिक भएको छ। यस्तै, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको कुरा पनि आएको छ। यसको पनि सत्यतथ्य छानवीन होस्।
८. आइसीसीले विश्वकपमा नेपाली टिम सहभागी भएबापत ४ सय टिकट र २० भिभिआईपि पास उपलब्ध गराएको जानकारी विभिन्न मिडियामा आएको थियो। तर, क्यान पदाधिकारीले हालसम्म उक्त टिकट कस–कसलाई उपलब्ध गरायो, त्यो खुल्न सकेको छैन, यसको पनि छानवीन होस्।
९. विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रक्रियाको लागी प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरि ती व्यक्तिहरु बाट मोटो रकम उठाई मानव तस्करी गर्न लागेको भन्ने खबर विभिन्न मिडियामा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले आफ्नो मातहतको तीन कर्मचारीलाई उनीहरूको पदीय जिम्मेवारीबाट हटाएको सर्वविदितै छ। यो कार्य क्यानका पदाधिकारीको मिलेमतो बिना असम्भव छ भन्ने हाम्रो ठहर छ। यस विषयमा पनि छानवीन होस्।
१०. क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयर सहित पूर्व वडा अध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागी अनुरोध गरेको पत्र स्वंम मेयरले नै सामाजिक सञ्जालमा प्रकासित गरेको गुरा अवगत छ। उनलाई कुन विशेषाधिकार प्रयोग गरिे क्यानले विश्वकप हेर्नका लागी अनुरोध गरेको हो र यस्तो पत्र कतिजनालाई क्यानले दिएको छ सोको छान्विन गरियोस। अमेरिका पुगेका क्यानका पदाधिकारी एंव उनका श्रीमती र संघका सदस्यहरुको भिसा प्रक्रिया कुन आधारमा क्यानले आईसिसि र अमेरिकि दुताबासलाई अनुरोध गरेको हो। सो सम्पूर्णको बारेमा पूर्ण रुपमा छानबिन होस भनि जोडदार माग गर्दछु।
माथी उठेका विषयहरुको जवसम्म सत्य तथ्य पूर्ण रुपमा सार्वजनिक हुदैन तवसम्म हामी निरन्तर आवाज उठाईरहनेछौ र क्रमबद्ध रुपमा आन्दोलन गर्नेछौ।